राजविराज– सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय सञ्चालनमा आएको छ। सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र कार्यालय स्थापना गरिएको छ।
यसअघि जेठको दोश्रो सातासम्म कार्यालय सञ्चालनको तयारी गरिए पनि प्राविधिक कठिनाइका कारण केही ढिला भएको अञ्चल अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
सरकारले प्रतिष्ठान निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत ४० करोड रुपैयाँसमेत विनियोजन गरिसकेकाले कामलाई तीव्रता दिन पहिलो चरणमा कार्यालय स्थापना गरिएको उनको भनाइ छ। कार्यालयको उद्घाटन असार १८ गते उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गर्ने कार्यक्रम छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौंस्थित वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइविटोलोजिस्ट प्रा डा सञ्जय कुमार ठाकुरलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। उनी जेठको पहिलो सातादेखि नै राजविराजमा छन्।
मन्त्रिपरिषद् बैठकले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समितिको गठनसम्बन्धी आदेश पारित गरिसकेकाले समितिले पनि चाँडै पूर्णता पाउने पूर्वाधार तयारी विकास समितिका सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक ठाकुरले विश्वास जताए। ९ सदस्यीय समितिमा पदेन सदस्यको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ छ।
पहिलो बैठक बसेको मितिले २५ महिना वा प्रतिष्ठान व्यवस्थापन गर्ने सम्बन्धमा जारी भएको ऐन प्रारम्भ भएको मितिले ४५ दिनभित्र समितिले आफनो काम सम्पन्न गर्नेछ। ‘गठन आदेशअनुसार समितिको पदावधि २५ महिनाको छ,’ ठाकुरले भने, ‘तर, हामी आफ्नो जिम्मेवारी एक वर्षभित्रै सम्पन्न गर्नेगरी काम गर्छाैं।’
हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी रणनीतिअनुसार प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागिएको हो।
मन्त्रिपरिषद्को २०७५ पुस २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। जसका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराएको छ।