काठमाडौं – नेपाल मेडिकल काउन्सिलको चिकित्सकिय अभ्यासका लागि दर्ता (लाइसेन्स) परीक्षामा फेल भएकाहरु नाजायज माग राख्दै विभिन्न निकाय धाउन थालेका छन्।
काउन्सिलको लाइसेन्स परीक्षा पास नगरी नेपालमा चिकित्सकिय अभ्यास अर्थात बिरामीको जाँच गर्न पाइँदैन। तर, काउन्सिलको परीक्षामा पटक पटक फेल भएका केही विद्यार्थीहरु उक्त व्यवस्था विपरित सरकारी अस्पतालमा बिरामी जाँच्न पाउनु पर्नेदेखि काउन्सिलको परीक्षामा सजिला प्रश्न सोध्नुपर्ने जस्ता नाजायन माग लिएर विभिन्न निकायमा ज्ञापन पत्र बुझाउँदै हिँडिरहेका छन्।
काउन्सिलको लाइसेन्सिङ परीक्षा फेल भए पनि आफूलाई ‘डाक्टर’ भन्दै हिँडिरहेका केही व्यक्तिहरु काउन्सिलको ऐन विपरितका माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काउन्सिल लगायतका विभिन्न निकायमा धाइरहेका हुन्।
एमबिबिएस अध्ययन सकेका विद्यार्थीले काउन्सिलको लाइसेन्सिङ परीक्षामा ५० प्रतिशत अंक ल्याए पास हुन्छन्। तर, अहिले सजिला प्रश्न सोध्नुपर्ने, लाइसेन्स नभए पनि बिरामी जाँच्न पाउनु पर्ने लगायतका १० बुँदे माग राखेर ज्ञापन पत्र बुझाउनेमध्ये केही व्यक्ति त काउन्सिलको परीक्षमा ७ पटकसम्म फेल भइसकेको काउन्सिल स्रोतले जानकारी दियो।
काउन्सिलका एक सदस्यले भने, ‘उनीहरुका केही माग गैरकानुनी छन्। लाइसेन्स नभई बिरामी जाँच्छु भन्नु अपराध गर्न पाउनुपर्छ भने सरहको हो।’
उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालयमा र शुक्रबार कोउन्सिलमा ज्ञापन पत्र बुझाएका छन्। ज्ञापनपत्रमा काउन्सिलको प्रश्नपत्र पुनरावलोकन गर्नुपर्ने, लाइसेन्स फेल भएकालाई सरकारी अस्पतालमा सिनियर चिकित्सकको सुपरभिजनमा चिकित्सकिय अभ्यासको व्यवस्था गर्नुपर्ने, परीक्षाको प्रश्न प्रतिस्पर्धात्मक भन्दा पनि स्नातक तहमा (एमबिबिएस) हासिल गरेको ज्ञान, सीप र अनुभवको आधारमा हुनुपर्ने, लाइसेन्स परीक्षाको नतिजा पुनरावलोकन गर्नुपर्ने, लाइसेन्स परीक्षाको पाठ्यक्रम निर्धारण गर्नुपर्ने, परीक्षाको प्रश्नको उत्तर सार्वजनिक गर्नुपर्ने लगायतका छन्।
