काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले सरकारी जागिर छाडेर विश्व स्वास्थ्य संगठनको जागिर खान जाने भएकी छिन्।
विश्व स्वास्थ्य संगठनको भारतस्थित कार्यालयमा संगठनको पि फाइब लेभलमा उनी जागिर खान जाने भएकी हुन्। यसका लागि उनले लिखित र अन्तर्वार्ता दुवैमा नाम निकालेकी छिन्। *यसअघि स्वास्थ्य सचिव नै रहेको समयमा डा सुधा शर्माले सचिवबाट राजीनामा दिएर युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण प्रमुखका रुपमा पि फाइब लेभलमा काम गरेकी थिइन्।
डा चौधरीले भारतको कार्यालयमा मातृ तथा बाल स्वास्थ्य कार्यक्रम हेर्ने छिन्। तर, यसका लागि उनको राजीनामा भने नेपाल सरकारले स्विकृत गर्नुपर्ने हुन्छ।
उक्त पदका लागि पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मीले समेत अनलाइन मार्फत परीक्षा दिएकी थिइन्। डा रेग्मीसहित डा चौधरीको लिखितमा नाम निस्केको थियो। तर, अन्तर्वार्तामा भने डा चौधरीको निस्केपछि उनलाई जागिरको ढोका खुलेको हो।
सरकारले डा चौधरीलाई स्वास्थ्यबाट पटक पटक हटाउने प्रयास गरेपछि डा चौधरी सरकारको पछिल्लो कदमबाट रुष्ट हुँदै आएकी थिइन्। सरकारले उनलाई गत वर्ष स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेकी थिइन्। अदालतले डा पुष्पाको पक्षमा आदेश दिएपछि उनी हालसम्म स्वास्थ्य सचिवका रुपमा कार्यरत छिन्।
तर, सरकारले स्वास्थ्य मन्त्रालयमा भने दुई जना सचिवको व्यवस्था गरेको छ। दुई जना सचिव भएपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सचिव चौधरीको जिम्मेवारी समेत कटौती गर्दै लगेका छन्।
सरकारले संघीय निजामति सेवा ऐन ल्याए लगत्तै सचिव चौधरीलाई अन्यत्र सरुवा गर्ने खतरा रहेपछि सचिव चौधरीले सुरक्षित रुपमा अकर्षक सेवा सुविधा पाइने विश्व स्वास्थ्य संगठनमा जान खोजेको स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्।
स्वास्थ्य सचिव चौधरीले भने यो विषय हल्लामात्र रहेको प्रतिक्रिया दिएकी छिन्।
*यसअघि डा सुधा शर्माले सचिवबाट राजीनामा दिएपछि सेवा गरेको संस्था र पदका विषयमा अन्यत्र कुरा पर्न गएकाले सच्याइएको छ।