काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको पत्र वितरण गर्न सुरु गरेसँगै कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईंले कर्मचारी समायोजन ऐन कार्यान्वयनको क्रममा जिम्मेवारी हेरफेर भएको बताए।
उनले भने, ‘कर्मचारी समायोजनले कोही संघ, कोही प्रदेशमा पर्नुभयो, संघमा परेका कर्मचारीको जिम्मेवारी मन्त्रालयले हेरफेर गर्न सक्छ, सोही आधारमा संघमा परेका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।’
मन्त्रालयले स्वास्थ्य सेवा विभागको मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिएको छ भने हालका निमित्त महानिर्देशक डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगरको जिम्मेवारी दिएको छ।
त्यसैगरी, औषधि व्यवस्था विभागमा पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको रुपमा राख्दै सो जिम्मेवारी पूरा गर्दै आएका हालका महानिर्देशक नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको रुपमा जिम्मेवारी सुम्पिएको छ।
मन्त्रालयका अनुसार परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी बिच्छालाई कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ भने डा परिवार कल्याण महाशाखामा डा भीमसिंह तिंकरीलाई ल्याइएको छ।
डा तिंकरीले सम्हालेको राष्ट्रिय क्षयरोग केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा सागरराज भण्डारीलाई ल्याइएको छ।
यस्तै सार्क क्षयरोग केन्द्रमा डा रमेश खरेल र राष्ट्रिय तालिम केन्द्रमा मोहम्मदलाई दाउदलाई निर्देशकको रुपमा ल्याइएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी व्यवस्थापन महाशाखाको जिम्मेवारी प्रदेश १ का स्वास्थ्य निर्देशक रहेका भोगेन्द्रराज डोटेलले पाएका छन्।
नरदेवी आयुर्वेद अस्पतालको निर्देशक भने डा प्रदीप केसीलाई दिइएको छ।
राष्ट्रिष्य एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा अनुज भट्टचन आएका छन् ।
यस्तै, मन्त्रालयका समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह र आयुर्वेद तथा बैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायको जिम्मेवारी भने यथावत राखिएको छ।
विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी पनि यथावत नै राखिएको छ।
यसैगरी, भरतपुर अस्पपतालको जिम्मेबारी डा श्रीराम तिवारीले पाएका छन् भने नारायणी अस्पतालको जिम्मेवारी डा मदन उपाध्यायलाई दिइएको छ।
डा सुधा देवकोटालाई कोशी अञ्चल अस्पतालमा काम काज गर्न पठाइएको छ ।
डा कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालको प्रमेसुको जिम्मेवारी, डा मनिषा रावललाई शुक्रराज अस्पतालको निर्देशक, डा विष्णुबहादुर बस्नेतलाई बीर अस्पतालमा काम काज गर्ने गरी, डा न्हुन्छेमान डंगोललाई वीर अस्पतालमा काम काज गर्नेगरी जिम्मेवारी तोकिएको छ।
डा अनन्तकुमार शर्मालाई भरतपुर अस्पतालमा काम काज गर्नेगरी, डा विसनसिंह बोहरालाई भेरी अस्पतालमा काम काज गर्ने गरी खटाउने निर्णय भएको छ।
मन्त्रालयले गत बिहीबारदेखि ११औँ तहका कर्मचारीको समायोजन पत्र वितरण सुरु गरेको छ।