काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले जलविन्दु उपचारका लागि अत्याधुनिक मेसिन सुपर ८१० इन्फ्रारेड लेजर भित्र्याएको छ। यो मेसिनबाट अस्पतालले लेजर थेरापी उपचार सेवा सुरु गरेको छ।
यो उपकरणबाट जलविन्दुको उपचार गर्दा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पु¥याउने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले जानकारी दिए।
अस्पतालका अनुसार यो जलविन्दुको मात्र नभई ट्युमर र आँखाको पर्दासम्बन्धी लेजर थेरापी उपचार गर्ने प्रविधि समेत रहेको छ।
जलविन्दु दृष्टिविहिन बनाउनसक्ने एउटा जटिल आँखाको समस्या हो। नेपालमा जलविन्दु अन्धोपनको प्रमुख तेस्रो कारणभित्र पर्ने नेपाल अन्धोपन सर्वेक्षणले देखाएको छ।
४० वर्ष उमेर कटेपछि यो रोग वंशाणुगत र अन्य कारणबाट हुने गरेको पाइन्छ। अस्पतालमा आउने बहुसंख्यक आँखाका बिरामीहरु आँखा जाँचपश्चात मात्र जलविन्दु रोग भएको पाइने प्रमुख कार्यकारी अधिकृत घलेले बताए।
वार्षिक करिब ४ हजार ७ सय जना जलविन्दु रोगसम्बन्धी बिरामीहरु आउने गरेको अस्पतालको भनाइ छ। जलविन्दुको रोकथाम उपचार औषधि, शल्यक्रिया र लेजर थेरापीद्वारा गर्न सकिन्छ।
अस्पतालले प्रत्येक ३÷३ महिनाको अन्तिम शनिवार जलविन्दुका विरामीहरु र जलविन्दु रोग विशेषज्ञको प्रत्यक्ष रुपमा अन्तरसम्वाद कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।