काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विगत ११ महिनादेखि कुनै पनि जिम्मेवारी नदिइ भूमिकाविहिन बनाइएका डा रमेश खरेलले अन्तत जिम्मेवारी पाएका छन्।
डा खरेललाई अघिल्लो वर्षको साउन ३ गतेदेखि मन्त्रालय तथा माताहतका कुनै पनि कार्यालयको जिम्मेवारी दिइएको थिएन। कुनै पनि भूमिका नदिएपछि मन्त्रालयमा हाजिर गर्दै फर्कनु पर्ने अवस्थामा रहेका डा खरेललाई कर्मचारी समायोजनको पत्रसँगै निर्देशकको जिम्मेवारी दिइएको छ।
डा खरेललाई सार्क क्षयरोग तथा एचआइभी-एड्स केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको हो।
मन्त्रालयले कुनै जिम्मेवारी नदिएपछि डा खरेललाई मन्त्रालयका कर्मचारीले ‘करिडोर’ महाशाखा प्रमुख भनेर व्यंग समेत गर्ने गर्थे। मन्त्रालयले कुनै जिम्मेवारी नदिएपछि डा खरेल स्कुटरमा आउजाउ गर्ने गर्छन्। कर्मचारीहरुले डा खरेलको स्कुटरमा आउजाउ गर्ने विषयलाई पनि व्यंग गर्दै ‘करिडोर महाशाखाका प्रमुख मुन्द्रे यातायातमा आउनुभयो’ भन्ने गरेका छन्।
जिम्मेवारी पाएपछि डा खरेलले छोटो प्रतिक्रिया दिँदै भने, ‘पत्र बुझेको छु। अब सरकारले दिएको जिम्मेवारी पूरा गर्न लाग्नेछु।’
केन्द्रमा शुक्रबारबाट निर्देशक पद खाली थियो। डा राजेन्द्र पन्तले उमेरका आधारमा अवकाश पाएपछि निर्देशक पद खाली भएको हो।
