कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिका-६ स्थित कोटातुल्सीपुर स्वास्थ्य चौकीमा आईतबार महिलाहरूको भीड थियो।
विशेषज्ञसहितको प्रजनन् स्वास्थ्य सम्बन्धी शिविर आयोजना हुने खबर सुनेपछि सेवाग्राही महिलाहरू धमाधम नाम दर्ता गराईरहेका थिए।
यही क्रममा बर्दगोरिया गाउँपालिकाकी आशादेवि (नाम परिवर्तन) पनि आफनो समस्याको निदान खोज्न नाम दर्ता गरिन्।
विशेषज्ञलाई देखाउँदा उनको पाठेघरमा क्यान्सर देखियो। उनलाई उपचारका लागि चितवन जान विशेषज्ञहरूले सुझाव दिए।
शिबिरमा ७० जना महिलाहरूको पाठेघरसम्बन्धी चेकजाँच गर्दा ३ जना महिलामा क्यान्सरको संकेत देखिएको जनाइएको छ।
उनीहरूलाई पाठेघरसम्बन्धि क्यान्सरको शंका लागेका कारण धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको चिकित्सकहरुले बताए।
झन्डै चार सय २७ महिला र ४३ जना पुरुष गरी चार सय ७० जनाले शिविरबाट सेवा लिएका थिए।
तीमध्ये अधिकांस महिलामा प्रजननसम्बन्धी समस्या देखिएको जनाइएको छ।
शिबिरमा २२ जनाको ल्याब परीक्षण पनि गरिएको थियो। जसमा एक जनामा सुगर भेटिएको छ।
स्वास्थ्य कार्यालय कैलालीले महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी समस्याको निदान तथा उपचार गर्ने उद्देश्यले बर्दगोरिया गाउँपालिकासहित मोहन्याल, चुरे र कैलारी गाउँपालिकामा शिविर गर्ने जनाएको छ।
महिलाहरूको पाठेघरसम्बन्धी जाच, एचआईभी जाच, गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड जाच, पाठेघरको क्यान्सर सम्बन्धि जाच लगायतका समस्याहरूको चेकजाँच गरिने स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक महेश चन्दले बताए।
उनले बर्दगोरियामा शिविर भइसकेको र अन्य स्थानीय तहमा पनि शिविर गरिने जानकारी दिए।
स्वास्थ्य कार्यालय कैलाली प्रमुख प्रमुख भवानीदत्त जोशीले बढी महिलामा पाठेघरको समस्या देखिने गरेको बताए। उनले कम उमेरमा बच्चा जन्माउदा महिलाहरूले समस्या भोग्नु परिरहेको बताए।
महिलाहरूको समस्या पहिचार र निदान गर्न उपचार सेवामा ल्याउन शिविर गरिएको बताइएको छ।