काठमाडौँ- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ। डा पुष्पमणि खरालले मंगलबार उक्त रिट दर्ता गरेका हुन्।
केही समयअघि प्रतिष्ठानको शैक्षिक सत्र २०७५/७६ को एमडी, एमएस, एमडिएस लगायतका विषय अध्ययनका लागि सूचना प्रकाशित भएको थियो। उक्त सूचनामा केही विषयमा नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीहरुलाई धेरै सिटको व्यवस्था गरिएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७(५) ले स्नातक तथा स्नात्तकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाईभन्दा बढी हुनेछैन भन्ने उल्लेख छ।
डा खरालका अनुसार उक्त नियमको उल्लंघन गर्दै प्रतिष्ठानले मुख्य विषयमा विदेशी विद्यार्थीलाई करिब ६० प्रतिशतभन्दा बढी भर्ना गरी नेपाली विद्यार्थीलाई चाख नभएको विषयमा मात्र भर्ना गर्ने कार्य अघि बढाएको कारणले उक्त कार्य रोक्न रिट निवदेन हालेका हुन्।
त्यसैगरी नेपाली विद्यार्थीले आफूले नै रोजेको विषय पढ्न पाउने अधिकारबाट बञ्चित गरिएको भन्दै ऐनबमोजिम सबै विषयमा नेपाली विद्यार्थीलाई छुट्याइएको कोटामा भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।