अछाम– न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई उपचारमा प्राथमिक्ता दिन सुरु गरिएको छ। स्वास्थ्य बिमा गरेका बिरामी अस्पतालमा आएमा नाम दर्तादिख सबै किसिमका उपचारमा पहिला पालो दिन थालिएको हो।
बयालपाटा अस्पतालका वरिष्ठ तथ्याकं तथा सूचना अधिकृत दीपक विष्टले भने, 'स्वास्थ्य बिमा गरेका बिरामी आएमा नाम दर्ताको लाइनलाई छुट्टै बनाएर दर्ता प्रक्रिया शीघ्र गरी उपचारमा समेत छिटो र पहिला पालो दिने गरेका छौं।'
अधिकृत विष्टले थपे, 'स्वास्थ्य बिमा गरेका बिरामीले छिटो उपचार पाउनु भन्ने हेतुले नाम दर्ता, ओपिडीमा चेकजाँच, प्रयोगशाला सेवा, भिडियो एक्सरे तथा एक्सरे लगायतका सबै प्रकारका सेवामा प्राथमिक्ता दिने गरेका छौं।' बिरामीलाई उपचार गर्न आउदाँ स्वास्थ्य बिमा कार्ड बोकेर आउन पनि उनले आग्रह गरेका छन्।
अस्पतलामा सबै किसिमको उपचार नि:शुल्क भएकाले उपचारमा पहिलो पालो दिएर बिमा गरेका सेवाग्राहीलाई राहत दिन थालिएको र थप उपचारका लागि अन्यन्त्र जानुपर्ने अवस्था आउदाँ उक्त बिमा बाफत एक लाख सम्मको उपचार पाउन सक्ने अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले बताए।
अछाममा हालसम्म जना २१ हजार ६ सय ८ जनाले स्वास्थ्य बिमा गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको संख्या १ लाख ९१ हजार ८ सय ५३ पुगेको छ।
प्रदेशका ७ जिल्लामा स्वास्थ्य बिमा लागू भइसकेको र डोटी डडेलधुरामा पनि आगामी आवभित्रै लागू गर्ने योजना रहेको स्वास्थ्य बिमाका प्रदेश संयोजक जनक साँउदले बताए।
देशका विभिन्न ४८ जिल्लामा स्वास्थ्य बिमा लागू भइसकेको छ भने सरकारले देशका सबै जिल्लामा आगामी स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ।
सुरुमा स्वास्थ्य बिमा गरेकाले उपचार गराए बापत ५० हजार सम्मको खर्च उपलब्ध गराउने गरिएकोमा हाल उक्त रकमलाई सरकारले दोब्बर अर्थात एक लाख पुर्याएको छ।
वर्षको एक पटक २५ सय रुपैयाँ बिमाकं शुल्क तिरेमा एक वर्षको अवधिमा एक लाख सम्मको स्वास्थ्य उपचार पाउने प्रावधान सरकारले बनाएको छ।