जनकपुर- काठमाडौंमा सिरिन्ज जस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना धनुषामा पनि भएको छ।
आज बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखाे वस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।
अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधीन पुलको छेउमा पुगेपछि आफूलाई एक युवकले अपशब्द बोल्दै सिरिन्ज जस्तो तिखो वस्तुले घोचेको उनले बताए।
'पुलकाे पारिपट्टि माेटरसाइकल राेकेर दुई जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोकेँ,' घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भने, ‘मेरो मोटरसाइकल रोकिने बित्तिकै '…हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो।’
तिखो वस्तुले घोचेपछि एकछिन आँखै देख्न नसकेको उनको भनाइ छ। 'मैले समाचारमा यस्तो घटनाबारे पढेको थिएँ। आफै त्यसको सिकार भइयो,' उनले भने, 'एकछिन त आँखै देखिनँ। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागिसकेका थिए।'
उक्त घटनापछि 'चल रे चल..' भन्दै बी आर ३०… लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर उनीहरु भागेको शिक्षक अधिकारीको भनाइ छ।
यता, प्रहरीले उक्त कार्यमा संलग्नहरुको खोजी कार्य जारी राखेको बताएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले सर्वसाधारणलाई पनि त्यस्तो प्रवृत्तिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गरे।
केही सातायता काठमाडौं उपत्यकामा भएको यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। पीडितहरुले सिरिन्ज आक्रमण भएको बताए पनि कार्कीले काँटीले घोचेको बयान दिएका छन्। (प्रतीकात्मक तस्बिर)