काठमाडाैँ - सर्वाेच्च अदालतले बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई एमडी/एमएस/ एमडिएस (पिजी)को भर्ना तत्काल अगाडि नबढाउन आदेश दिएको छ। सर्वोच्चले अर्काे फैसला नहुन्जेलसम्म राेक्न अन्तरिम आदेश दिएको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै डा पुष्पमणि खरालले मंगलबार रिट दर्ता गरेका थिए। साे रिटको सुनुवाई गर्दै सर्वाेच्चले उक्त आदेश दिएको हो।
केही समयअघि प्रतिष्ठानको शैक्षिक सत्र २०७५/७६ को एमडी, एमएस, एमडिएस लगायतका विषय अध्ययनका लागि सूचना प्रकाशित भएको थियो। उक्त सूचनामा केही विषयमा नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीहरुलाई धेरै सिटको व्यवस्था गरिएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७(५) ले स्नातक तथा स्नात्तकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाईभन्दा बढी हुनेछैन भन्ने उल्लेख छ।