काठमाडौँ – बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रले आकस्मिक सेवा विस्तार गरेको छ। अस्पताल परिसरमा बनेको नयाँ भवनमा आकस्मिक कक्षको सेवा थप गरिएको हो।
अस्पतालमा यसअघि १६ शय्या क्षमताको आकस्मिक कक्ष थियो। आजबाट थप १६ शय्या थप गरेर ३२ शय्याको बनाइएको अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिए।
दैनिक ५० देखि ६० जना बिरामी आउने इमरजेन्सीमा नयाँ भवनमा थप सेवा सुविधासहित बिरामीले सेवा लिन सक्ने डा शर्माले जानकारी दिए।
बिरामीको चाप बढ्दै गएपछि अस्पातलले बिरामीको सेवा सुबिधालाई मध्यनजर गर्दै शय्या थप गरेको हो।
अस्पतालको नव निर्मित भवन यही महिनामा हस्तान्तरण हुने भएको छ।
अन्डरग्राउण्ड पार्किङ सहितको उक्त भवनमा पेइङ ब्लक, ल्याब सेवा, ओपिडि सेवा, एकाडेमिक ब्लक, फ्याकल्टी ब्लक आदि रहनेछन्। त्यसैगरी सवा ३ सय जना अट्ने सभा हल पनि हुनेछ। यसको लागत ४७ करोड रहेको छ।