काठमाडौं— स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले कर्मचारी समायोजनपछि मन्त्रालयले ११ औं तहका कर्मचारीलाई इमान्दारिताका आधार सही ठाँउमा सही जिम्मेवारी दिइएको बताएका छन्।
नेपाल आयुर्वेद चिकित्सक संघको २३औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री यादवले ११ औं तहपछि आउने अन्य तहको जिम्मेवारी दिदाँ जो कोही भएपनि काम नगर्ने कर्मचारीलाई पन्छाएरै छाड्ने स्पष्ट पारे।
उनले भने, ‘काम नगर्नेलाई हटाउने नै हो, काम गर्नेलाई सही ठाउँमा सही जिम्मेवारी दिएका छौँ ।’
स्वास्थ्य मन्त्रालयले केही दिनअघि मात्र ११औँ तहका कर्मचारीलाई समायोजन ऐन कार्यान्वयन गर्दै जिम्मेवारी हेरफर गरेको थियो।
उनले आयुर्वेदलाई मन्त्रालयले विभेद गरेको भन्ने प्रसङ्गको खण्डन गर्दै दिइएको बजेटले राम्रो काम गरी सबै बजेट खर्च गरे मन्त्रालय थप बजेट दिन तयार रहेको बताए।
उनले भने, ‘तपाईहरु दिइएको बजेट खर्च गर्न नसक्ने, काम केही नगर्ने, तलब खाने, कर्मचारी भर्ना गर्नेबाहेक पनि अरु केही काम गर्नुस् न हामी बजेट दिन्छौँ। दिइएकै बजेट खर्च गर्न सक्नुहुन्न अनि विभेद भयो भनेर हुन्छ।’
उनले नरदेवी आयुर्वेद अस्पताल, सिंहदरबार वैदखानाले मन्त्रालयले दिएको बजेटकै सदुपयोग नभएकाले वर्षौसम्म नतीजा नआएको भन्दै किन लगानी बढाउने भनेर प्रश्न गरे।
नेपाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नयाँ स्वास्थ्य नीतिले आयुर्वेदका धेरै विषय समेटेको उल्लेख गरे।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले नयाँ स्वास्थ्य नीति २०७६ले आयुर्वेदलाई स्पष्ट समेट्न नसकेको बताए। उनले आयुर्वेदको छुट्टै स्वास्थ्य नीति ल्याउनुपर्ने, आयुर्वेद प्रतिष्ठान स्थापना गर्न माग गरे।
संघले स्थापना दिवसको अवसर पारेर आयुर्वेदमा योगदान पुर्याएको भन्दै डा आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख श्री मंगलप्रसाद, नरदेवी आयुर्वेद अस्पतालका नवनियुक्त निर्देशक डा प्रदीप केसी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका नवनियुक्त प्रमुख डा रामआधार यादव र डा सरीता श्रेष्ठलाई सम्मान गरेको थियो।