जनकपुर- प्रचण्ड गर्मी र वर्षाका कारण तराई मधेसमा सर्पदंशको घटना ह्वात्तै बढेको छ।
महोतरीको बर्दिबास सर्पदंश उपचार केन्द्रमा चैतदेखि हालसम्म ९७ जना सर्पदंश र अन्य किराले टोकेका बिरामीले उपचार गराएका छन्। जसमध्ये सर्पको टोकाइबाट ६४, बिच्छीको टोकाइबाट २५ जना र खजुरोको टोकाइबाट ८ जनाले उपचार पाएका छन्। त्यसैगरी विष नभएको सर्पले टोकेको र शंकाको आधारमा उपचार केन्द्रमा भर्ना हुन आएका २ सय १८ जना रहेको उपचार केन्द्रले जनाएको छ।
सर्प र बिच्छी बढी पाइने भनिने बर्दिबास क्षेत्रमा सर्पदंशका घटनाले मानवीय क्षति बढ्दै गएपछि उपचार केन्द्र सञ्चालनमा ल्याइए पनि उपकरण अभाव छ। बर्दिबास नगरपालिका ३ गौरीबासमा रहेको नेपाली सेनाको गुल्मले ६ जना सर्पदंशको उपचार गर्ने दक्ष प्राविधिक उपलब्ध गराएपछि स्थानीय समुदायको पहलमा २०७१ साउन ३१ देखि उक्त केन्द्र सञ्चालनमा ल्याइएको थियो।
हाल यहाँ धनुषा,सर्लाही, रौटहट, बारा, सिन्धुली र रामेछाप जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्। उपचार केन्द्रमा उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटरको अभाव भएकाले बिरामीलाई बाहिर सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ।
केन्द्रमा भवन र शय्याको अभाव भएकाले बिरामीको संख्या बढेपछि भुइँमा र एउटै शय्यामा २/३ जनासम्म बिरामी राखेर उपचार गर्नु पर्ने बध्यता रहेको सर्प दंश उपचार केन्द्रका सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए।
भेन्टिलेटर सहितको उपचार उपकरणका लागि स्वास्थ्य मन्त्रालयमा कैयौं पटक आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको उनको गुनासो छ।
यस क्षेत्रमा गर्मी सुरु भएपछि गोमन र करेत जस्ता विषालु सर्प, ढोडिया, हरहरा लगायतका विष नलाग्ने सर्प र बिच्छी खजुरो जस्ता विषालु किराको बिगबिगी बढ्ने गरेको छ।