डडेल्धुरा - संघीय सरकारले बजेट पठाएपछि सूदुरपश्चिमका सुत्केरीहरुले झण्डै ५ महिनापछि भत्ता पाउने भएका छन्। माघ महिना यता बजेट अभाव भएको भन्दै अस्पतालमा प्रसूति सेवा लिएकाहरुले भत्ता पाउन सकेका थिएनन्।
संघीय सरकारले बजेट पठाएलगत्तै कतिपय अस्पतालले भत्ता वितरण सुरु गरिसकेका छन् भने कतिपय अस्पतालले अव सुरु गर्ने तयारी गरेका छन्।
सेती अस्पतालले २३ गतेदेखि सुत्केरी भत्ता वितरण सुरु गर्ने भन्दै सुचना नै जारी गरेको छ। अस्पतालले सुत्केरी भत्ताका लागि आवश्यक कागजात सहित गाईने वार्डमा सम्पर्क गर्न आग्रह गरेको छ। सेती अस्पतालबाट मात्रै ५ महिनाको अवधीमा २ हजार ५ सय बढी सुत्केरीले भत्ता पाउन बाँकी रहेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रदेशका अस्पतालमा प्रसूति सेवा लिएका आमाहरुलाई भत्ता वितरण गर्न संघीय सरकारले साढे तीन करोड बजेट पठाएको जनाएको छ। मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तका अनुसार यसअघि चालु आर्थिक बर्षका लागि सुरुमा ३ करोड २८ लाख र त्यसपछि सेती अस्पतालका लागि मात्रै एक करोड ५० लाख बजेट संघीय सरकारले पठाएको अहिले थप साढे तीन करोड पठाएको हो।
उनले सुत्केरी भत्ताका लागि सेती अस्पतालले ६० लाख र महाकाली अस्पतालले २० लाख बजेट माग गरेको बताएका छन्। अन्य धेरै अस्पतालमा भने स्थानीय तह मार्फत नै बजेट गइरहेको पन्तले जानकारी दिए।