डोटी- डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा शनिबार साँझ ६ महिने बालिकाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।
अस्पतालमा जिल्लाको शिखर नगरपालिका–१, कपल्लेकी टीका ऐरकी ६ महिने छोरी राधिका ऐरको मृत्यु भएको हो।
केही दिन पहिले घरमा निमोनिया र ज्वरोले बिरामी परेकी निज बालिकालाई उपचारका लागि शनिबार उक्त अस्पतालमा ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीबाट बालिकाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले नाराबाजी गरेका प्रहरीले जनाएको छ।
सुजङ अस्पतालका स्वास्थ्यकर्मी अर्जुन बलायरले आफ्नोतर्फबाट उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गरेका छन्।
उनले भने, 'निज बालिकालाई १०४ डिग्री ज्वरो आएको थियो, हामीले यहाँ उपचार सम्भव छैन बाहिर लैजानुस् भनी आग्रह गरेका थियौँ। तर, परिवारले लग्नु भएन। अहिले ज्यान गएपछि दोष हामीलाई दिन थाल्नु भएको छ।'
अस्पतालमा मृतकका आफन्तले नाराबाजी गर्न थालेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।