काठमाडौं– कर्मचारी समायोजनको कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन पत्रमा हस्ताक्षर गर्ने जिम्मा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठलाई दिएको छ।
मन्त्रालयको प्रशासन तर्फका सहसचिव जनार्दन गुरागाईंले अवकास पाएपछि मन्त्रालयले श्रेष्ठलाई अधिकार दिएको हो। गुरागाईंले १७ गतेबाट उमेरका आधारमा अवकास पाएका हुन्। समायोजनको काम भइरहेकाले गुरागाईं अवकासको दिन पनि साँझ ५ बजेसम्म मन्त्रालयमा खटिएका थिए।
स्वास्थ्यका २७ हजारभन्दा बढी कर्मचारीमध्ये हालसम्म ११ औं तहका कर्मचारीले मात्र समायोजनको पत्र पाएका छन्। ११ औं तहका कर्मचारीले समायोजनसँगै पदस्थापनाको पत्र पनि पाएका छन्।
समायोजनको पत्रमा हस्ताक्षरको जिम्मा पाएको स्विकार गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘समायोजनको जिम्मेवारी त पहलेदेखि नै थियो, प्रशासनका सहसचिव खाली भएपछि हस्ताक्षरको जिम्मेवारी पनि थपिएको छ।’ उनले मन्त्रालयले सायमोजनको कामलाई छिट्टै टुंग्याउने गरी काम अगाडि बढाएको जानकारी दिए।
मन्त्रालयले ८, ९ र १० औं तहको समायोजनको काम पनि सकाएको छ। तर, उनीहरुको पत्र बनाउने काम भइरहेको बताइएको छ। यसका साथै मन्त्रालयले थोरै कर्मचारी भएका पदको समायोजनको काम पनि सकाइसकेको छ। उनीहरुको सूची छिट्टै प्रकाशित गर्ने तयारी भएको बताइएको छ।