काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ६ जना डाक्टरले आवेदन दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि आयोगको उपाध्यक्षमा नाम चर्चामा रहेका डा भगवान कोइराला, डा धर्मकान्त बास्कोटा र डा अर्जुन कार्कीले आवेदन दिएनन्।
ऐनमा उल्लेखित सर्तका कारण उनीहरुले आवेदन नदिएका हुन्।
आवेदन दिनेमा गौरिबहादुर कार्की आयोगले दोषि ठहर गरेर कारबाही सिफारिस गरेका डा निलमणि उपाध्याय पनि छन्। यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रेक्टार डा श्रीकृष्ण गिरी, डा प्रमोद शर्मा, डा पारस पोखरेल, डा रमेश सिंह र डा निलाम्बर झाले पनि आवेदन दिएका छन्।
स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँगको निकटतम रहेका डा गिरी उपाध्यक्ष बन्न चर्को दौडधुपमा छन्।
उपाध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको सिफारिस समितिले उपाध्यक्षका लागि दरखास्त हाल्न १५ दिनअघि सार्वजनिक सूचना जारी गरेको थियो।
गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ।
समितिले दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई योग्यता पुगेका आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि सम्भावित तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। सो मध्ये सरकारले एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने छ।
उपाध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ।