काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षामा सरकार गम्भीर रहेको बताउनुभएको छ।
स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षासम्बन्धी छलफलमा उहाँले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढ्नु चिन्ताको विषय भएको बताए।
उपप्रधानमन्त्री यादवले आक्रमणका घटना बढ्नुको कारण खोज्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य संस्था र स्थानीय प्रशासनबीच समन्वय बढाए यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षामा कुनै सम्झौता नगरिने प्रष्ट पारे। 'कतिपय ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकै कारण बिरामीलाई क्षति पुगेको छ । त्यस्तालाई कारवाही हुनुपर्छ । उचित रुपमा उपचार हुँदाहुँदै बिरामीलाई केही भएमा मोलमोलाई गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ', उनले भने, 'स्थानीय प्रशासनले त्यसमा सहयोग गर्छ।'
कार्यक्रममा स्वास्थ्य सम्बद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि पछिल्लो समय आक्रमणका घटना बढेको भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए। रासस