जनकपुर– जनकपुर अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ। औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० जना लक्षित वर्गका बिरामी मारमा परिरहेका छन्।
अस्पतालमा औषधि नभएपछि सेवाग्राहीलाई औषधि किन्न बाहिरका मेडिकलमा धाउनुपर्ने बाध्यता सिर्जना भएको छ।
औषधि अभाव भएपछि सेवाग्राही महँगोमा अस्पताल बाहिरको मेडिकलमा गएर औषधि किन्न बाध्य भएका छन्। डाक्टरले लेखेकामध्ये अधिकांश औषधि अस्पतालमा नपाइएपछि निजी औषधि पसलबाट महँगो मूल्यमा किन्नुपरेको बिरामी तथा उनीहरुका आफन्तको गुनासो छ।
औषधि अभाव भएपछि स्वास्थ्य बिमा गरेका बिरामीहरु पनि बाहिरैबाट औषधि खरिद गर्न बाध्य छन्।
हातखुट्टा दुखेर जँचाउन जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमा पुगेका ६५ वर्षीय हकिमलाई डक्टरले उपचारपश्चात् औषधि लेखिदिए। हकिमले आफूसँग औषधि किन्ने पैसा नभएकाले निःशुल्क औषधिको सिफारिस गरिदिन आग्रह गरे।
डाक्टरले सिफारिस पनि दिए। डाक्टरले लेखिदिएको औषधिको पुर्जा लिएर औषधि लिन अस्पतालको फार्मेसीमा पुगेका उनी निराश भए। कारण उनले त्यहाँ औषधि पाउन सकेनन्। डाक्टरले निःशुल्क औषधि पाउने बताए पनि हकिमले भने पाएनन्।
फार्मेसीका कर्मचारीले उनलाई रित्तो हात फर्काइदिए। हकिमजस्ता सयौं बिरामी जनकपुर अञ्चल अस्पतालमा भेटिन्छन्। उनीहरुको हातमा डाक्टरले निःशुल्क पाइने भनी सिफारिस गरिदिएको पुर्जा हुन्छ। तर औषधि नपाएर यत्रतत्र घुमिरहेका हुन्छन्। कारण उनीहरुसँग निजी फर्मामा गएर औषधि किन्ने पैसा हुँदैन।
रोगको उपचारपछि डाक्टरले औषधि त लेखिदिन्छन्, तर उक्त औषधि बिरामीले भने पाउन सक्दैनन्। किनकि अस्पतालमा पर्याप्त औषधि छैनन्। ‘डाक्टरले पनि त्यही औषधि लेखिन्दिन्छ, जुन सरकारी फर्मामा उपलब्ध हुँदैन’, अस्पताल परिसरमा भेटिएका रवीन्द्र ठाकुरले भने।
उपचारको लागि बुहारीलाई लिएर अस्पताल पुगेका उनले हकिमलाई देखाउँदै भने, ‘तारापट्टी सिरसियाबाट निःशुल्क औषधिको आसमा आउनुभएको थियो, रित्तै फर्कनुभयो।’ सरकारी अस्पतालमा उपचारका लागि आउने जोकोहीलाई बिनाशुल्क उपचार मात्र होइन औषधिसमेत दिन सक्नुपर्छ।
अझ स्वास्थ्य बिमा लागू गरिएका कारण यो त झनै अनिवार्य समेत बनेको छ।
जनकपुर अञ्चल अस्पतालमा कार्यरत डाक्टर जामुन सिंह भन्छन्, ‘हामीले गरिब असहायलाई निःशुल्क औषधिको सिफारिस गरेका छौं।’
निःशुल्क औषधि पाइने ठाउँमा दिइए पनि बाँकी औषधि भने बिरामी आफैंले किन्नुपर्ने सिंहले बताए। उनले थपे, ‘प्रायः गरिब र असहायलाई निःशुल्क औषधि र अन्य सबैलाई बिमाबारे लेखेरै दिएका छौं।’
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेन्टेट नागेन्द्र यादवले आफूलाई अस्पतालमा कति प्रकारका उपलब्ध औषधि उपलब्ध हुन्छन् जानकारी नभएको बताए । यता डाक्टर सिंहले अस्पतालमा ५० प्रकार औषधि उपलब्ध भएको बताए। जिल्ला अस्पताल र गाउँमा रहेका स्वाथ्यचौकीको हकमा भने झनै बढी औषधि पाइने उनले जानकारी दिए।