राजविराज– गरिब, असहाय तथा लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिने उद्देश्यले सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरिएको छ।
गरिब, असहाय र असमर्थ बिरामीले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट वन्चित हुनु नपरोस् भन्ने उद्देश्यले इकाइ स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।
सरकारले आर्थिक वर्ष ०६९/७० देखि नै जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्ता इकाई राख्ने निर्णय गरेको थियो । तर, राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा सेवा सुरु भएको थिएन। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा चैत १२ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको उनले बताए। सेवा सञ्चालनका विषयमा मंगलबार मात्रै औपचारिक जानकारी गराइएको छ।
इकाईमार्फत अति गरिब/विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपमा परेका, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र लोपोन्मुख जातिले सेवा पाउने डा दासले बताए।
यसरी पाइन्छ सेवा
अस्पतालमा गरिब, विपन्न तथा लक्षित समूहका बिरामीले निःशुल्क वा आधा शुल्कमा सेवा लिन आउँदा नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै परिचय पत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ।
अपाङ्गता भएकाहरुका लागि महिला विकास शाखाले जारी गरेको परिचयपत्र र जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र लिएर आएर इकाईबाट सेवा पाउने मेसु दासले जानकारी दिए। यसैगरी, लैंगिक हिंसामा परेका महिला, पुरूष वा बालबालिका र स्वंयसेविका महिलालाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था गरिएको उनको भनाइ छ।
तीन महिनामा २ सय ३५ ले लिए सेवा
अस्पतालको सामाजिक सेवा इकाइमार्फत करिब तीन महिनाको अवधिमा २ सय ३५ जनाले १ लाख ४१ हजार ९ सय ७२ रुपैयाँ बराबरको निःशुल्क तथा आधा शुल्क तिरेर उपचार लिएका छन्। जसमा अति गरिब÷विपन्न १ सय १८, असहाय ९, अपाङ्गता भएका व्यक्ति ६, जेष्ठ नागरिक ५८, लैङ्गिक हिंसापीडित ५, कुपोषित बालबालिका २९, प्रहरीले ल्याएका थुनुवा १० जनाले सेवा प्राप्त गरेका छन्।
चालु आर्थिक वर्ष इकाइका लागि लागि कुल १८ लाख रुपैयाँ विनियोजन भए पनि ९ लाखको मात्रै अख्तियारी आएको अस्पतालले जनाएको छ। आगामी आर्थिक वर्षमा करिब २० लाख रुपैयाँ इकाइका लागि बजेट आउने मेसु दासको अनुमान छ।