डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको विशेषज्ञ उपचार सेवासहितको डडेल्धुरा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ।
सुत्केरी भएको १५ दिनपछि एक महिलाको मृत्यु भएपछि केही दिनअघि तनावमा रहेको अस्पतालमा आजभोलि फेरि बिरामीको चाप बढेको अस्पतालले जानकारी दिएको छ।
खानेपानीको मुहानमा अकाशको पानीसमेत मिसिने र मौसम परिवर्तनका कारण भाइरल ज्वरो र झाडापखालका बिरामीको चाप बढेको हो।
अस्पतालमा अहिले दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट जितेन्द्र कँडेलले बताए। ५० शय्याको उक्त अस्पतालमा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुराका बिरामी उपचार गराउन आउने गरेको उनले बताए।
'अस्पतालको ओपिडीमा १ सय ५० देखि २ सयसम्म र १५ देखि ३० जनासम्म इमेरजन्सीमा भर्ना हुने गरेका छन्,' मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भने, 'अस्पतालमा भाइरल ज्वरो, झाडापखलाका बिमारी बढी भर्ना हुन थालेका छन्।'
उपचार सेवा प्रदेशकै अब्बल भएपनि अस्पालको भवन सुविधा सम्पन्न नभएका कारण समस्या रहेको उनले बताए। ‘टिनको छाप्राभित्र बिरामीको उपचार गर्नुपर्छ, वर्षातको बेला यो ठाउँठाउँमा चुहिन्छ,’डा. कँडेलले भने, 'बिरामीको उपचारमा धेरै समस्या छ।'
दैनिक रूपमा बिरामी बढ्दै गएपछि उपचार गर्न आवश्यक जनशक्ति नहुँदा समस्या भएको उनले बताए। अहिले अन्य जिल्ला अस्पतालसँगै निजी अस्पतालले समेत डडेल्धुरा अस्पतालमा रेफर गर्न थालेका छन्। डडेल्धुरा जिल्ला अस्पातलले नेपालगञ्ज लगायतका अस्पतालमा रेफर भएका बिरामीसमेत डडेल्धुरा अस्पतालले उपचार गर्ने गरेको छ। सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला अस्पतालले डडेल्धुरा अस्पतालमा अधिकांश बिरामी रेफर गर्ने गरेका छन्।
सेती अञ्चल अस्पतालको सेवा जिल्ला अस्पतालको भन्दा कमजोर

सुदूरपश्चिमका पहाडी क्षेत्रको यो जिल्ला अस्पतालका तुलनामा धनगढीको सेती अस्पतालको सेवा झन् कमजोर रहेको अध्ययनले देखाएको छ। सामाजिक विकास मन्त्रालयले विज्ञमार्फत् गरेको अध्ययन अनुसार जिल्लास्तरीय अस्पतालको भन्दा पनि सेती अस्पतालको सेवा कमजोर रहेको देखाएको हो।
अध्ययन टोलीका प्रमुख डा दीपेन्द्र थापाका अनुसार सेती अस्पतालको सेवा प्रवाह गुणस्तीय नभएको देखिएको छ। ‘सेती अस्पतालमा सेवा लिँदा झन्झटिलो, बढी समय लाग्ने, स्वास्थ्यकर्मीको रुखो व्यवहार, कमजोर अस्पताल प्रशासन मुख्य समस्याका रुपमा देखियो, ’ उनले भने, ‘पहाडी जिल्लाका अस्पतालको तुलनामा सेतीमा बिरामीको चाप धेरै भएपनि सेवा गुणस्तरीय देखिँदैन।'
पहाडी जिल्लाका तुलनामा सेती अस्पतालमा बिरामीको संख्या बढी भएपनि सोअनुसार व्यवस्थापन गर्न नसक्दा सेवा प्रवाह गुणस्तरीय नभएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले पनि स्वीकार गरे। अस्पतालमा जनशक्ति, उपकरण, भौतिक संरचना आदिको पनि अध्ययन भइरहेको उनले बताए।
३६ वर्षदेखि स्तरोन्नति नभएकै कारण पनि सेवा प्रभावकारी नभएको प्रतिवेदनको आशय छ। विक्रम सम्वत् १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल २०४० सालमा स्तरोन्नति भएको थियो।
सुदुरपश्चिकै रेफरल अस्पताल भनेर चिनिने अस्पताल कैलालीमा ठूला निजी अस्पताल खुलेपछि गुणस्तरीय सेवामा प्रतिस्पर्धा बढेको छ।