फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगको पहिलो उपाध्यक्ष नियुक्तिका लागि खुलाइएको आवेदन प्रक्रियालाई सच्याएर पुन आवेदन खुलाउन माग गरिएको छ। सोलिडारिटी फर डा केसी अलायन्सले उपाध्यक्ष नियक्ति प्रक्रिया सच्याउन माग गरेको हो।
अलायन्सले उपाध्यक्ष सिफरिस समितिका संयोजकसमेत रहेका लोकसेवा आयोगका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै चिकित्सा शिक्षा ऐन अनुसार पुनः आवेदन गर्न माग गरेको हो। अलायन्सले यसअघिको आवेदनको सूचनामा राखेको ६१ व्र्ष उमेर काटेको हुन नहुने सर्त ऐन विपरित रहेको भन्दै सच्याउन माग गरेको छ।
‘दरखास्त हाल्नका लागि तोकिएको योग्यता ६१ उमेरे ननाघेको भन्ने बुँदा रहँदा प्रमाणित योग्यता र कार्यक्षमता भएका उम्मेदवारहरु नेतृत्व छनोटको प्रक्रियाबाटै बाहिरिएको देखिन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐनको ६५ वर्षसम्म आयोगको उपाध्यक्षले काम गर्न सक्ने भनेर तोकेको अवस्थामा उम्मेदवारहरुको लागि अकितम उमेरको सिमा बढाइदिए मात्र त्यसले योग्यतम व्यक्ति छनोटलाई सम्भव बनाउँछ।’
आयोगको उपाध्यक्षका लागि समितिले १५ दिनको समय दिएर मागेको आवेदनको समय सोमबारबाट सकिएको छ। यो अवधिमा ६ जनाले आवेदन दिएका छन्।
आवेदन दिनेमा गौरिबहादुर कार्की आयोगले दोषि ठहर गरेर कारबाही सिफारिस गरेका डा निलमणि उपाध्याय पनि छन्। यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रेक्टार डा श्रीकृष्ण गिरी, डा प्रमोद शर्मा, डा पारस पोखरेल, डा रमेश सिंह र डा निलाम्बर झाले पनि आवेदन दिएका छन्।
स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँगको निकटतम रहेका डा गिरी उपाध्यक्ष बन्न चर्को दौडधुपमा छन्।