काठमाडौं- स्वास्थ्य खबरपत्रिकाको वार्षिकोत्सव तथा नवौं हेल्थ अवार्ड काठमाडौंमा हुने भएको छ। यसअघि आठौं अवार्ड चितवनमा भएको थियो।
स्वास्थ्य खबरपत्रिका ९ वर्ष पुगेर १० वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्न लागिएको हो। पत्रिकाले पहिलो वार्षिकोत्सवदेखि नै अवार्ड प्रदान गर्दै आइरहेको छ।
स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको हेल्थ अवार्ड यो वर्ष पनि भदौमा हुने छ। अवार्डका लागि अवार्ड छनौट कमिटि गठन भई आवश्यक काम अगाडि बढीसकेको स्वास्थ्य खबरपत्रिकाका अध्यक्ष अनिल न्यौपानले जानकारी दिए।
‘स्वतन्त्र निर्णायक कमिटिले अवार्डका लागि आवेदन माग गरिसकेको छ,’ उनले भने, ‘देशभरबाट आएका आवेदनका आधारमा कमिटीले आवश्यक अध्ययन र अनुसन्धान गरी विधागत रुपमा उत्कृष्टको छनोट गर्नेछन्।’
यो वर्ष अवार्डका विधामा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनस्वास्थ्य प्रशासक, नर्स, डाक्टर, अस्पताल र सामाजिक संस्थाहरु रहेका छन्।
गत वर्ष ताप्लेजुङकी सिर्जना राई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, अछाम जिल्ला अस्पतालका अहेब वीरबहादुर बोहोरा उत्कृष्ट स्वास्थ्यकर्मी, बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासक, डोल्पा जिल्ला अस्पतालकी ताराकुमारी बोहोरा उत्कृष्ट नर्स, डा चुमनलाल दासलाई उत्कृष्ट डाक्टर, चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल, नेपाल सिआरएस कम्पनी उत्कृष्ट सामाजिक संस्था र डा मृगेन्द्रराज पाण्डे र डा हिरण्यदेव प्रधानलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
