काठमाडौं- सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ।
जिल्लमा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं आउन भनेको हो। ‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहाँ कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाका लागि केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौं’ संघका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन्।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन्।
