धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट असार २५ गते बुधबार राती शिशु चोरी भयो। सुनसरी भोक्राहनरसिंह गाउँपालिका-१ की बबिता मेहेता आफूसँगै सुतेको नवजात शिशु (छोरा) हराएपछि कराउन थालीन्।
यसपछि अस्पतालको वार्डको हल्ला बाहिरसम्म पुग्यो। घटनाका विषयमा अनुसन्धान गर्दा सहयोगी बनेर अस्पताल आएकी धरान-१५ की लिला विक दोषी देखिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिष्ठानका प्रवक्ता पशुपति चौधरीका अनुसार मेहता १३ गते अस्पताल भर्ना भएकी हुन्। शिशुको स्वास्थ्य अवस्था कमजोर भएकोले केही दिन अस्पताल नै बस्नुपर्ने अवस्था थियो। '२५ गते बच्चा हराएपछि चारैतिर खैलाबैला भयो। बुधबार बेलुकासँगै च्यापेर सुतेको शिशु हराएपछि अस्पाताल परिसरमा परिवारको रुवाबासी चल्यो,' उनले भने, 'सुत्केरी मेहेतासँगै परिचय भएकी लिला विक पनि कुरुवाका रुपमा आएर अस्पतालमा नै सुतेकी थिइन्। उनको संलग्नताका विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।'
शिशुका बुबा जितनारायण मेहेताले प्रहरीलाई बोलाइदिन भनेपछि अस्पतालका नर्सले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी आउनासाथ विकले हाउभाउ परिवर्तन गरिन्। उनले एक्कासी बेहोसको नाटक गर्न थालिन्। विकको मोबाइल प्रहरीले नियन्त्रणमा लियो। यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटना भएको १० मिनेट अघिमात्र विकले एउटा नम्बरमा फोन गरेको प्रहरीले बताएको छ। विककै मोबाइलबाट प्रहरीले सोही नम्बरमा कल गर्यो। इलाका प्रहरी कार्यलय धरानका प्रहरी प्रमुख ढुण्डीराज न्यौपानेका अनुसार फोनमा बच्चा रोएको आवाज आएको र महिलाले फोन उठाएकी थिइन्।
सो नम्बरमा फोन गरी प्रहरीले तपाईंको मान्छे बेहोस भएको छ चाँडो आउनुपर्यो भन्यो। तर उनले आउने छाँटकाँट देखाइनन्। प्रहरीले फोनको लोकेसन ट्रयाक गर्यो। धरान-१५ बगरकोटमा लिलाकी भाउजू पर्ने मिना लिम्बू विक पक्राउ परिन्।
उनीसँगै रहेको शिशु परिवारलाई जिम्मा लगाएर पिडकमाथी अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।
बच्चाका बुबा जितनारायण मेहेताका अनुसार केही दिन अघिदेखि नियमित रूपमा लिला विक वार्डमा कुरुवाजस्तो भएर आउनेजाने गर्थिन्। ‘हिजो राती पनि हाम्रो क्याबिनमा आएर सुतेकी रहिछन्। हाम्रो आफन्त कुरुवा बसेको थियो,’उनले भने, ‘सबै निदाएको बेला बच्चा निकालेर अर्को महिलालाई बोलाएर पठाएछ।’
प्रहरी र चिकित्सकको सक्रियताले चोरी भएको केही समयपछि नै नवजात शिशु धरान-१५ स्थित बगरकोटमा फेला परेको थियो। बच्चा चोरीमा संलग्न दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका लिला र मिना दुवै विरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आइसकेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए। ‘बच्चा चोरी भएकै हो, उनीहरुको नियत खराब देखिएको छ। यसबारे जाहेरी आइसकेको छ,’ उनले भने, ‘एक जना महिला १०/१२ दिनदेखि पोस्टनेटल वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरी विश्वास जितेर आफन्त निदाएको बेला बच्चा चोरी गरेको देखिन्छ।’
‘लिलाले भाउजू बोलाएर बच्चा टेम्पोमा पठाएर ऊ चाहिँ यहीँ बसेकी थिइन्,' उनले भने, ‘पछि बगरकोटबाट बच्चा उद्धार गरेका हौं।’
बच्चा हराएको १० मिनेट अगाडि लिलाले 'बच्चा भयो गाडी लिएर आउनू' भन्दै फोन गरेकी थिइन्। त्यसपछि मिना गाडी लिएर आएकी र बच्चा बोकेर भागेको उपरीक्षक न्यौपानेको भनाई छ। अझै पनि कहिलेदेखिको योजना हो र के नियत हो भन्ने बारे अनुसन्धानकै क्रममा रहेकोले यसै भन्न सक्ने अवस्थामा प्रहरी नपुगेको उनको भनाइ छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार नवजात शिशुलाई उनीहरूले भारतको दिल्ली लैजाने तयारी गरेका थिए। लीलाका श्रीमान् भारतको दिल्लीमा बस्दैं आएको बताइएको छ।