काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा रौनियार र अर्का डाक्टर रामहरी रौनियार घुस रकम सहित पक्राउ परेका हुन्। अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्।
‘घुस रकम लिइरहेको अवस्थामा प्रतिष्ठान परिसरमा रहेको उपकुलपति निवास धरानबाट रंगेहात उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता कोइरालाले जानकारी दिए। उनीहरुका विषयमा थप अनुसनधान भइरहेको छ।
उपकुलपति डा रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत घुस माग गरिएको उजुरीका आधारमा अख्तियारको टोली धरान पुगेको थियो।