काठमाडौं- सरकारले डाक्टरहरुको परामर्श शुल्क बढाउने प्रक्रिया अगाडि बढाएको छ। मुद्रास्फीति र अन्तराष्ट्रिय अभ्यासका आधारमा सरकारले ५ वर्षपछि डाक्टरहरुले लिने परामर्श शुल्क पुनरावलोकन गर्न लागेको हो।
स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको शुल्क पुनरावलोकन सिफारिस कार्यदलको बैठकले डाक्टरको योग्यता र अनुभवका आधारमा शुल्क बढाउने प्रस्ताव गरेको हो।
मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा विकास देवकोटाको संयोजकत्वमा चिकित्सक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन), नेपाल मेडिकल काउन्सिल सहितको समितिको बैठकले शुल्क बढाउने प्रक्रिया अगाडि बढाएका हुन्। छलफलमा देवकोटासहित, संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी, अफिनका अध्यक्ष वसन्त चौधरी, नेपाल मेडिकल काउन्सिका कार्यवहाक अध्यक्ष डा नारायण विक्रम थापालगायतको उपस्थिति थियो।
छलफलमा परामर्श शुल्क योग्यता र अनुभवका आधारमा ८५ देखि १६० रुपैँयासम्म बढाउने विषयमा लगभग सहमति भएको छ।
डाक्टरको परामर्श शुल्कको विषयमा पहिलो पटक डा उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री हुँदा निर्णय भएको थियो। तर उक्त निर्णय कार्यानवयनमा अउन सकेको थिएन। त्यस विषयमा नेपाल चिकित्सक संघले पटक पटक आवाज उठाउँदै आएको थियो। ०७१ सालमा खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा संघको माग अनुसार शुल्क निर्धारण भएको थियो। त्यतीबेला प्रत्येक २/२ वर्षमा परामर्श शुल्क पुनरावलोकन गर्ने पनि उल्लेख थियो। तर त्यसयता अहिलेसम्म शुल्क पुनरावलोकन हुन नसकेको संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए।
उनका अनुसार ०७१ सालमा एमबिबिएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको २५०, ५ वर्ष अनुभव भएपछि ३००, एमबिबिएसपछि फेलोसिप गरेकाले ४००, विशेषज्ञले ४५० र ५ वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञले ४७५ परामर्श शुल्क लिन पाउने निर्णय भएको थियो। सोही अनुसारको शुल्क हालसम्म कार्यानवयनमा रहेको छ।
अब कति हुने?
एमबिबिएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको ३३५
एमबिबिएस गरेर ५ वर्षको अनुभवपछि ३९०
एमबीबीएस गरेर फेलोसीप गरेको चिकित्सक ५३५ रुपैयाँ
५ वर्षभन्दा कम अनुभव भएको एमडी ९विशेषज्ञ० पास चिकित्सक ५९०
एमडी गरी ५ वर्षभन्दा बढी अनुभव भएको चिकित्सक ६३५