डडेल्धुरा - डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि पटक पटक आक्रमणका घटना भएपछि सुरक्षाको माग गर्दै चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। सुरक्षाको ग्यारेन्टी नभएसम्म सेवामा नफर्कने डाक्टरले चेतावनी दिएपछि जिल्लास्तरीय सरोकारवालाबीच छलफल भएको छ।
छलफलमा चिकित्सकहरुले आफुहरुमाथि बेला–बेला भएको आक्रमणले डडेल्धुरा बस्ने वातावरण नभएको बताएका छन् भने प्रशासनले सुरक्षा प्रदान गर्ने बताएको छ। छलफल लामो समय चलेपनि दुबै पक्षबीच भने सहमति हुन सकेको छैन।
छलफलमा डाक्टर र सिडिओले एक अर्काप्रति आलोचना मात्र गरेको एक सहभागिले जानकारी दिए।
छलफलमा डाक्टरले प्रशासनले किन सुरक्षा दिन सक्दैन? अपराधिलाई कानुनी दायरामा ल्याउन किन सकिरहेको छैन? यस्ता गतिविधीमा संलग्न दोषी देख्दा पनि किन कारबाही हुँदैन भन्दै आक्रोश व्यक्त गरेका थिए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा जितेन्द्र कँडेलले दोषिलाई कारबाही गरे मात्र यस्ता गतिबिधीमा कमी आउने बताए। उनले आफ्नो घरलाई भन्दा बढी माया गरेको अस्पतालमा आक्रमण हुनु र सेवा प्रदायकलाई सुरक्षा नहुनु दुखद भएको पनि जानकारी छलफलमा दिएका छन्।
छलफलमा सहभागि अर्का डाक्टर जीवन खरेलले डाक्टरले डर र त्रासमा गुणस्तरीय सेवा प्रदान गर्न नसक्ने बताए।
‘बिरामी जाँच गर्ने समयमा डर, सव परिक्षण गर्दा चिकित्सकमाथि ढुंगा प्रहार हुन्छ भने हामी कसरी यो अस्पतालमा काम गर्ने सक्छौ?’ उनले भने, ‘कसैले फोनमा धम्क्याउँछ, कसैले आगो लगाइदिन्छु भन्छ। यस्तो वातावरणमा कसरी काम गर्न सकिन्छ?’
उनले पोष्टमार्टम गर्ने क्रममा भएको आक्रमणको विषयमा पनि जानकारी दिए।
उनका अनुसार लास घरमा पोष्टर्माट हुने क्रममा कसैले माथिबाट बियरको बोतलले प्रहार गरेका थिए। तर, उक्त प्रहार आफूलाई नलागेको उनले जानकारी दिए। फेरि अर्कोले हान्न खोज्दा आफूलाई अरुले बचाएको उनले जानकारी दिए।
‘आक्रमण हुन थालेपछि हामी भाग्यौँ, त्यही बेला लास लिएर गएछन्,’ उनले घटनाको विवरण सुनाउँदै भने।
छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी राजुप्रशाद पौडेलले डाक्टरहरुले गरेका प्रश्नको जवाफ दिँदै आफुले ठाडो निवेदनकै आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको जानकारी दिए। उनले डाक्टरलाई पत्र समेत देखाएका छन्।
‘तपाईहरुलई मेरो अनुरोध छ । अति आवश्यक सेवामा काम गर्नु हुन्छ सेवामा जानुस’ उनले भने, ‘हामी तपाईहरुको सुरक्षा दिनेछौं।
तर, उनले आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष सूर्यप्रकाश खड्का र अन्य दोषिलाई कारबाही गर्ने विषयमा ढुक्क पार्न नसकेपछि छलफलमा सहमति नभएको एक चिकित्सकले बताए।
अस्पतालमा पोष्टमार्टम गर्ने क्रममा बुधबार साँझ खड्काको नेतृत्वमा आक्रमण भएको चिकित्सकहरुले बताएका छन्।
खड्काले बुधबार साँझ नै भएको एक छलफलमा उक्त घटनाका विषयमा माफी मागेको बताइएको छ।