काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनको उद्घाटन गरेका छन्। भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले अस्पतालको विकास र विस्तारका लागि सरकारले सहयोग गर्ने बताए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भत्किएका संरचना राम्रो बनाउने काममा उपलब्धि भएको उल्लेख गर्दै अस्पतालका पार्किङ, जमीनलगायत समस्या समाधानका लागि सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।
उक्त अस्पतालको नयाँ भवन निर्माण, डिजाइन, सुपरीवेक्षण, परामर्श सेवा, फर्निचर र मेडिकल उपकरणका लागि दुई अर्ब ३६ करोड रुपैयाँ खर्च भएको बताइएको छ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्रप्रसाद यादवले राजधानी बाहिर धेरै जनसङ्ख्या भएको शहरमा पनि यस्तै सुविधासम्पन्न अस्पताल बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिए।
उनले प्रसूति गहृलाई स्वास्थ्य क्षेत्रको खोजअनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न लागिएको जानकारी दिए।
अस्पतालका निर्देशक डा जागेश्वर गौतमले आधुनिक उपकरणसहितको भवनबाट गुणस्तरीय सेवा प्रदान गर्ने जानकारी दिए।
तीन तलाको पाँच हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनको भुइँतलामा आकस्मिक सेवा र तीन शल्यक्रिया कक्षसहित प्रसूति सेवा रहने जनाइएको छ। भवनको पहिलो तलामा एकै पटक १० जनालाई प्रसूतिसेवा दिलाउन सकिने कक्ष, पर्याप्त कक्षाकोठा, सम्मेलन कक्ष, पुस्तकालय र प्राध्यापक कक्षको समेत व्यवस्था गरिएको छ।