बाँके- कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब एक सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ।
नेपालगन्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगन्जमै थन्किएको हो। औषधि यहीँ थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ।
जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगन्जदेखि जुफाल उडान हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताए।
मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि विमानस्थल बन्द भएको उनको भनाइ छ।
दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन्। औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगन्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डा सिजन रावलले बताए। 'हरेक दिन बिरामी थपिइरहेका छन्, भुँइमा बिरामी राखेका छौँ, तर औषधिको पीरलो भइरहेको छ,' डा रावलले भने, 'यदि औषधि सकियो भने अन्य कुनै पनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौँ।' मौज्दात औषधि सकिँदै गएको अस्पतालले जनाएको छ।
विमानस्थलमा चार दिनदेखि बाक्लो हुस्सुले ढाकेको छ। दैनिक उडानको आसमा बसेका यात्रुसमेत मर्कामा परेका छन्। मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्स लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेसन इञ्चार्ज पूर्णजङ्ग शाहीले बताए। रासस