काठमाडौं - चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरमा पहिलोपटक मिर्गौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ।
अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका डाक्टरसाबहरुसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गरेका हुन्। यो उपचार नेपालमा नै पहिलो पटक गरिएको अस्पतालको दाबी छ।
बिरामीको दाहिने मिर्गौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा अस्पतालका युरोलोजि विभागका प्रमुख प्राडा भोलाराज जोशीको टिम संलग्न थियो।
प्राडा जोशीले यस किसिमको प्रोसिडियोर स्लो ग्रोइङ ट्युमरहरुकालागि र निकै साना साइजका ट्युमरहरुको उपचारकालागि अत्यन्त प्रभावकारी रहेको बताए।
एब्लेशन भनेको शरिरको भित्रि अङ्गहरुको ट्युमरका तन्तुहरुलाई तातोले डामेर वा चिस्याएर मार्ने प्रक्रिया हो। यो उपचार प्रक्रिया उमेरका कारणले, मुटुको समस्याका कारणले लगायतका विविध कारणले अप्रेशन गर्न नमिल्ने अवस्थाका बिरामीहरुको उपचारको विकल्पको रुपमा गर्ने गरिन्छ।
एब्लेशन ट्युमरको साइज निश्चित सीमाभित्र रहेको अवस्थामा मात्र गर्न सकिने डा थापाको भनाई छ। विभिन्न कारणले सर्जरी गर्न नमिल्ने अवस्थाका बिरामीहरुको उपचारकालागि विकल्पका रुपमा प्रयोग गरिने यस प्रोसिडियोरमा अल्ट्रासाउण्ड र सिटि स्क्यानका लाईभ तस्वीरहरु हेर्दै, प्रोब (विशेष किसिमको सुई) को माध्यमबाट एब्लेशन मेसिनको विशेष यन्त्रलाई ट्युमरसम्म पुर्याएर ट्युमरका तन्तुहरुलाई डामेर वा चिस्याएर मार्ने गरिन्छ।
एब्लेशन विशेष गरी कलेजो तथा फोक्सोको उपचारमा प्रयोग गरिने गरिदै आएकोमा पछिल्लो समयमा मिर्गौला, फोक्सो, स्तन, पाठेघरका ट्युमरको उपचारकालागि समेत प्रयोग गरिन थालिएको छ।
कलेजो तथा फोक्सोको ट्युमरको उपचारकालागि यस किसिमका एब्लेशन पहिले गरिसकिएको भएपनि मिर्गौलामा रहेको ट्युमरको उपचारकालागि भने नेपालमा पहिलोपटक ॐ अस्पतालमा यो प्रोसिडियोर गरिएको डा अजित थापाको दाबी छ। उनका अनुसार यो उपचारमा प्रा. डा भोलाराज जोशीको टिमका युरोलोजिष्ट डा. सुजित पौडेल, एनेस्थेसिया तथा क्रिटिकल केयर मेडिसिनका डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. उत्सव आचार्य लगायतको टिम रहेका थिए।
