डडेल्धुरा- डडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जना पक्राउ परेका छन्।
प्रहरीले चिकित्सकहरुको उजुरीका आधारमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ।
गत बुधबार दिउसो शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो। आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।
चिकित्सकहरुका अनुसार अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेका थिए।