डडेलधुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा दिने प्रतिवद्धता जनाएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकहरु काममा फर्किने भएका छन्।
चिकित्सकहरु जिल्ला छाडेर धनगढी गएपछि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग समस्याको बारेमा छलफल भएको छ। भेटमा मुख्यमन्त्री भट्टले सुरक्षाको प्रतिवद्धता जनाएपछि उनीहरु नियमित काममा फर्किने भएका हुन्।
नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक प्रमोद जोशीले मुख्यमन्त्रीबाट सुरक्षाको सकारात्मक जवाफ आएको र घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरु काममा फर्किन राजी भएको बताए।
गत बुधबार दिउँसो शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो। अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए।
चिकित्सकमाथि हातपात गर्नेमध्ये १ पक्राउ डडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले चिकित्सकको उजुरीका आधारमा आइतबार दिउँसो शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। नियन्त्रणमा रहेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेकाले उनको परिचय भने गोप्य राखिएको छ।