काठमाडौं– चिकित्सा शिक्षा प्रवेश परीक्षा सुझाव समितिले चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले विषयगत प्रवेश परीक्षासहित बौद्धिक परीक्षा (इन्टेलेक्चुअल टेस्ट) पनि दिनुपर्ने व्यवस्था राख्न सुझाव दिएको छ।
नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा धर्मकान्त बास्कोटाको संयोजकत्वमा गठित समितिले प्रवेश परीक्षामा चिकित्सा शिक्षासँग सम्बन्धित विषयसहित बौद्धिक परीक्षा (याप्टिट्युड टेस्ट : मेन्टल एजिलिटी टेस्ट/आइक्यु, सिच्वेसनल जजमेन्ट टेस्ट) पनि लिन सुझाव दिएको हो।
चिकित्सक शिक्षा अध्ययनका लागि हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र यस्तो परीक्षा लिने गरिएको छ। अन्य विश्वविद्यालय तथा प्रतिष्ठानमा भने यस्तो परीक्षाको व्यवस्था छैन। समितिले सबै विश्वविद्यालय र प्रतिष्ठानमा यस्तो परीक्षाको व्यवस्था राख्न सुझाव दिएको हो।
समितिले प्रवेश परीक्षामा २ सय पूर्णाङ्कको वस्तुगत लिखित परीक्षा लिनुपर्ने र त्यसमध्ये ६० नम्बर बौद्धिक परीक्षणको अंक भार हुने सुझाव दिएको छ। बाँकी अंकभारमा १२० नम्बर आधारभूत विषयतर्फ, भौगोलिक क्षेत्र अन्तर्गत १० र विपन्न वर्गलाई १० नम्बर राख्न सुझाव दिएको छ।
समितिले विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाको नम्बरका आधारमा योग्यता क्रम (मेरिट) अनुसार हुनुपर्ने सुझाव पनि दिएको छ।
समितिले चिकित्सा शिक्षाले स्वास्थ्य क्षेत्रका सबै विषयलाई नसमेटेको भन्दै सबैलाई समेट्नेगरी राष्ट्रिय स्वास्थ्य शिक्षा प्रवेश परीक्षा भनेर नाम समेत राख्न सुझाव दिएको छ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको अध्यक्षतमा राष्ट्रिय स्वास्थ्य शिक्षा प्रवेश परीक्षा समिति गठन गर्न पनि प्रस्ताव गरेको छ।
समितिमा त्रिभुवन र काठमाडौं विश्वविद्यालयका चिकित्सा संकायका डिन, स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टार, स्वास्थ्य र शिक्षा मन्त्रालयका सहसचिव, परीक्षा विज्ञ र नेपाल मेडिकल काउन्सिलको परीक्षा समितिका संयोथक सदस्य राख्न सुझाव दिएको छ। समितिको सदस्य सचिव भने आयोगको परीक्षा निर्देशनालयका निर्देशक हुनुपर्ने प्रस्ताव गरेको छ।
समितिले सबै विश्वविद्यालय र प्रतिष्ठानको साझा प्रवेश परीक्षा लिनुपर्ने र परीक्षा प्रदेश अनुसार लिन पनि सुझाव दिएको छ।