रोल्पा– विद्यालयमा महिनावारी हुँदा पहिले जस्तो चिन्ता छैन सीता डाँगीलाई। पढ्दापढ्दै महिनावारी भए उनी विद्यालयमा रहेको हेल्थ डेस्क जान्छिन् र सेनेटरी प्याड मागेर प्रयोग गर्छिन्। महिनावारीकै कारण विगत जस्तो समस्या भोग्नुपरेको छैन उनलाई।
विद्यालयमा पढ्दापढ्दै अकस्मात बिरामी परेर एक घन्टा दूरीमा रहेको जिल्ला अस्पताल रेउघामा उपचार गराउँदा धेरै पटक पढाइ छुटेको छ, कक्षा १० कि लालकुमारी विष्टको। विद्यालय नजिक स्वास्थ्य केन्द्र नहँुदा उनी लामो दूरीमा रहेको जिल्ला अस्पताल पुगेर उपचार गराउन बाध्य थिइन्। अहिले सामान्य बिरामी पर्दा विद्यालयको हेल्थ डेस्क जान्छिन् र गराउँछिन्।
सीता र लालकुमारी मात्रै होइन, रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालय अध्ययन गर्ने विद्यार्थीले विद्यालयको हेल्थ डेस्कबाट यस्तो सेवा लिइरहेका छन्। उनीहरु जस्तै दुई हजार ५ सय बढी विद्यार्थीले सो विद्यालय अध्ययन गर्छन्।
विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिंदै सो विद्यालयले केही महिनाअघि हेल्थ डेस्क स्थापना ग¥यो। एक जना नर्सको दरबन्दी सिर्जना गरी आन्तरिक स्रोतबाट तलब सुविधा दिनेगरी नर्सबाट स्वास्थ्य सेवा समेत दिइरहेको छ।
विद्यालयको एक कोठामा स्थापना गरिएको हेल्थ डेस्कमा महिनावारी व्यवस्थापनका लागि प्याडका साथै बिरामी विद्यार्थीको स्वास्थ्य परीक्षणपछि सामान्य औषधि समेत वितरण हँुदै आएको छ। ‘कडा खालका बिरामी देखिए जिल्ला अस्पताल जान परामर्श दिने गरेको छु,’ सो विद्यालयका नर्स जोशना डाँगीले भनिन्।
हालसम्म कडा खालका बिरामी नदेखिएको र देखिएमा जिल्ला अस्पतालमा पठाउनेगरी परामर्श दिने गरेको उनले बताइन्। महिनावारी व्यवस्थापनमा समस्या भोग्दै आएका छात्रालाई हेल्थ डेस्कले निकै सहयोग गरेको डाँगीको भनाइ छ।
दैनिक २० भन्दा बढी बिरामी विद्यार्थीले डेस्कबाट सेवा लिने गरेको विद्यालयले जनाएको छ। हेल्थ डेस्कमा अधिकांश ज्वरो, झाडापखाला, आउँ, रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या लिएर आउने गरेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा छात्राहरुका लागि महिनावारी प्याड व्यवस्था गरिएको विद्यालयले जनाएको छ। ‘नमुना विद्यालय गुरुयोजना बमोजिम विद्यालय हाताभित्र वितरण गर्न मिल्ने औषधि मात्रै जिल्ला स्वास्थ्य कार्यालयसँगको परामर्शका आधारमा वितरण गरिरहेका छौं,’ विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भने।
महिनावारीले छात्राहरुको उपस्थितिमा केही प्रभाव देखिनुका साथै विद्यालयबाट स्वास्थ्य संस्थाहरु टाढा रहँदा दैनिक १५÷२० जना विद्यार्थीको पढाइ प्रभावित हुने गरेको महसुस भएपछि यस्तो सेवा दिन सुरु गरेको प्रधानाध्यापक पोख्रेलले बताए। ‘स्वास्थ्य सेवा प्रवाहसँगै बिरामी भई बिदा मागेर जाने विद्यार्थीको संख्या शून्यमा झरेको छ,’ उनले भने। नर्सले बिरामीको उपचारका साथै परामर्श सेवा समेत दिने गरेका छन्।
हेल्थ डेस्कबाट दैनिक १ बजेपछि बिरामीको उपचार गर्ने समय निर्धारण गरिएको छ। अधिकांश विद्यार्थी १ बजेपछि मात्रै बिदा मागेर स्वास्थ्य केन्द्र जाने गरेको देखिएकाले सोही समय रोजेको विद्यालय व्यवस्थापन समितिका सदस्य जितबहादुर डाँगीले जानकारी दिए।
१ बजे अघिको समय विद्यार्थीलाई महिनावारी व्यवस्थापन, सरसफाइ, पानी शुद्धीकरण, साबुन पानीले हात धुने तरिका, पोषण, बालबिवाह जस्ता विषयवस्तुमा परामर्श सेवा दिने गरेको सदस्य डाँगीले बताए। ‘केही कक्षाहरुमा स्वास्थ्य तथा वातावरण शिक्षा सम्बन्धी कक्षा सञ्चालन गर्नेगरी जिम्मेवारी पनि तोकेका छौं,’ सदस्य डाँगीले भने।
विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील भएर विद्यालयले गरेको काम प्रशंसनीय रहेको अभिभावक टीकाराम शर्माले बताए। ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा विद्यालयले गरेको लगानी सराहनीय छ,’ शर्माले भने।
विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने भएकाले उनीहरुको स्वास्थ्यमा विद्यालयको तर्फबाट ख्याल गर्ने जनशक्ति र संरचना बन्नु निकै राम्रो पक्ष भएको उनको भनाइ थियो। विद्यालयमा सामूहिक हात धुने स्थान, साबुन पानीको उचित व्यवस्था तथा पानी शुद्धीकरण गरेर मात्रै पिउने व्यवस्था गर्नुपर्ने शर्माको सुझाव छ।