काठमाडौं— स्वास्थ्य मन्त्रालयले वर्षात्का समयमा फैलन सक्ने महामारी रोकथाम तथा नियन्यणका लागि देशभर पूर्व तयारी गरिएको जनाएको छ।
बाढीले बढी प्रभावित प्रदेश २ मा संभावित महामारीको फैलन नदिन विशेष टिम खटाएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख चुडामणि भण्डारीले बताए। बाढी प्रभावित जिल्लामा सम्भावित प्रकोप तथा महामारी नियन्त्रणलगायतका सेवा सुचारु र व्यवस्थित गर्न केन्द्रबाट कर्मचारी खटाई सकिएको जानकारी उनले दिए।
प्रदेश २ मा मात्र तीन वटा टिम बनाएर काम थालिएको उनको भनाइ छ। लहान केन्द्रले सिरहा र सप्तरी, बर्दिबास केन्द्रले महोत्तरी, सलार्ही र धनुषाका साथै पथलैया केन्द्रले बारा, पर्सा र रौतहट जिल्ला हेर्ने गरी जिम्मेवारी दिइएको छ।
ती केन्द्रले प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्ला विपद् व्ययवस्थापन समितिसँग समन्वयन गरी नियमित रुपमा स्वास्थ्य सेवा विभाग र स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइलाई दैनिक रूपमा रिपोर्टिङ गर्ने प्रमुख भण्डारीले जानकारी दिए।
यसका साथै औषधि उपकरणको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। तराईमा बाढीपछि सर्पदंशका बिरामीको चाप बढ्ने भएकाले एन्टिभेनम भाइल पठाइएको छ। जनकपुरमा ११ सय एन्टिभेनम भाइल पठाइएको र त्यसमध्ये २ सय भाइल सप्तरीमा पठाइएको छ।
स्वास्थ्यका दुई क्लस्टर 'स्वास्थ्य' र 'पोषण' हेर्ने गरी सबै साझेदार संस्थासँग पनि समन्वय गरिएको छ। दुषित पानीका कारण फैलने महामारीको जोखिम कम गर्न युनिसेफ रेकक्रसलगायतका संस्थासँग सहकार्य गरी तयारी गरिएको छ।
हरेक प्रदेश र स्थानीय निकायले पनि विपद् व्यवस्थापनका लागि अग्रिम तयारी गरेकाले उनीहरुसँग पनि सहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ। हरेक प्रदेशले पूर्व तयारीका लागि बजेट व्यवस्थापन पनि गरेका छन्।
मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी हरेक प्रदेशमा फोकल पर्सन तोकेको छ। कुन प्रदेशमा कस्तो अवस्था छ भनेर मन्त्रालयमा हरेक बुधबार भिडियो कल गरी छलफल हुने गरेको प्रमुख भण्डारीले जानकारी दिए।
आकस्मिक व्यवस्थाको लागि युनिसेफले रौतहट सलार्ही, सिरहा र महोत्तरी १० हजार जनसंख्यालाई तीन महिना पुग्ने औषधिसहितको किट पठाइएको छ। काठमाडौं र नेपालगन्जमा कीट तयारी अवस्थामा राखिएको समेत बताइएको छ।
त्यसबाहेक मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको र्यापिड रेन्सपोन्स टिम (द्रूत प्रतिकार्य टिम) ले समेत महामारी तथा प्रकोप नियन्त्रणको काम गर्छ। अस्पतालमा इमरजेन्सी मेडिकल टिम पनि बनाएर राखिएको मन्त्रालयको भनाइ छ। उनीहरुबीच पनि सहकार्य गर्ने व्यवस्था गरिएको छ।
वर्षायाम सुरु भएपछि बाढीपहिरोमा परी शुक्रबारसम्म ९० जनाको निधन भएको छ। ४३ जना घाइते र ३५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।