डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कालाजारको ’लायपसमल’ नामको औषधि अभाव भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती अस्पताल बाहेक कुनै स्वास्थ्य संस्थामा यो औषधि नरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ।
अन्य स्वास्थ्य संस्थाहरूसँग कालाजारको औषधि प्रयोग गराउन सक्ने दक्ष चिकित्सक नभएकाले औषधि नपठाइएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताएका छन्।
कालाजारको संक्रमण तराईमा बढी हुने भएकाले सरकारले सोहीअनुसार योजना निमार्ण गरी बजेट र औषधि पठाएको हुन्छ।
'पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुरामा देखिने कालाजार भारत लगायतका तेस्रो मुलुकबाट आएको हो। यो झाडापाखला जस्तै छोटो समयमै महामारीकै रुपलिने खालको रोग पनि हैन। सरुवा रोग चाहिँ हो। पहाडका नागरिकमा यो रोगदेएको धनगढी नै आउनु पर्छ,' उनले भने, 'सबै स्थानमा औषधि पुर्याउन दक्ष जनशक्ति नै छैन।'
डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, बझाङ, कञ्चनपुर, अछाम लगायतका अस्पतालमा कालाजारको 'लायपसमल’ नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ।
कालाजारको औषधि जोसुकैले पनि जति बेला पनि किन्न मिल्दैन। फ्रिजिङ गरेर राख्नुपर्ने स्वास्थ्य कार्यालय डडेल्धुरा वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रशाद चपागाईं बताउँछन्। उनले डडेल्धुराको अजयमेरु गाउँपालिका–६ मा एक जनालाई यो रोग देखापरेकाले केही दिनभित्र त्यस क्षेत्रमा औषधि पुग्ने बताए।