जनकपुर - जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न भएको तनवा समाधान भएको छ।
मृतकका परिवारलाई साढे ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने सम्झौतापछि आफन्तले मृतकको शव उठाएका छन्। आइतबार बिहान उपचारका क्रममा विन्देश्वर ठाकुरको अस्पतालमा मृत्यु भएको थियो।
बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। आफन्तको प्रदर्शनका कारण अन्य बिरामीको सेवा प्रवाहमा समस्या उत्पन्न भएको थियो।
मृतकका आफन्त र स्थानीयले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै शव नउठाउने भन्दै अस्पतालमा धर्ना दिएका थिए। आइतबार साँझदेखि अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता चलेको थियो।
लामो छलफलपछि अस्पतालले मृतकका आफन्तलाई ४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने सम्झौता गरेको थियो। उक्त सम्झौतापछि आफन्तले शव उठाएका हुन्।
पेट दुख्ने समस्या भएपछि धनुषाको बटेश्वर गाउँपालिका–३ का ४५ वर्षीय ठाकुरलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। आफन्तले अस्पतालमा उपचारका क्रममा जथाभावी औषधि चलाउँदा बिरामीको मृत्यु भएको आरोप लगाएका छन्।