काठमाडौं– कर्मचारी समायोजनका कारण भक्तपुर अस्पताल डाक्टरविहीन भएको छ। अस्पतालमा कार्यरत सबै दरबन्दीका डाक्टर समायोजनमा परेर संघ तथा प्रदेश अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थामा गएपछि अस्पताल डाक्टरविहीन भएको हो।
७५ शय्या क्षमताको अस्पताल प्रदेश ३ सरकार माताहत छ।
देशकै पुरानोमध्येको एक अस्पताल डाक्टरविहीन भएपछि बिरामीको उपचारमा समस्या परेको छ। अस्पतालमा ९, १० र ११ औं तहका १० जना कन्सलटेन्ट डाक्टर र ८ जना मेडिकल अफिसर सबै समायोजनमा अन्यत्र सरुवा भएका हुन्। अस्पतालमा दैनिक औषतमा ६ सय बिरामी उपचारका लागि आउने गरेका छन्।
दरबन्दीका सबै डाक्टर अन्यत्र सरुवा भएपछि अस्पतालमा हाल करार र छात्रवृत्तिका ४ जना डाक्टर मात्र कार्यरत रहेको एक कर्मचारीले जानकारी दिए।
को कहाँ समायोजन ?
अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सुधा देवकोटा संघमा समायोजन भइ साउन २ गते सरुवा भएकी थिइन्। उनलाई मन्त्रालयले कोशी अस्पतालमा पठाएको छ। तर, उनी आफू कोशी नजाने भन्दै मन्त्रालयमा धाइरहेकी छिन्।
डा देवकोटाको सरुवा भएपछि सरकारले डा रविभूषण सुवाललाई निमित्त मेडिकल सुपरिटेन्डन्टका रुपमा अस्पतालमा पठाएको थियो। तर, उनी पनि त्यहाँबाट सरुवा भइसकेका छन्। डा सुवाललाई वीर अस्पतालमा पदस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डा सुवालको सरुवा भएपछि अस्पतालमा अहिले मेडिकल सुपरिटेन्डेन्ट नै छैनन्।
अस्पतालकी प्याथोलोजिस्ट डा लिसा गौचन राष्ट्रिय ट्रमा सेन्टर, एनेस्थेसियोलोजिस्ट डा सरिता श्रेष्ठ, अर्थोपेडिक सर्जन डा सुदीप खनाल, छाला रोग विशेषज्ञ डा उमा गिरी घिमिरे वीर अस्पतालमा सरुवा भएका छन्।
यसैगरी, बालरोग विशेषज्ञ डा शान्ति श्रेष्ठ प्रसूति गृह थापाथली, रेडियोलोजिस्ट डा हरिओम जोशी कान्ति बाल अस्पतालमा सरुवा भएका छन्।
गाइनोकोलोजिस्ट डा अतीत पौडेलको स्वास्थ्य सेवा विभागमा सरुवा भए पनि उनले भने रमाना लिइनसकेको अस्पतालका एक कर्मचारीले जानकारी दिए।
८ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा हाल ४ जनाको पद रिक्त नै छ। दरबन्दीमा रहेका बाँकी ४ जनाको पनि संघमा समायोजन भएको छ।
अस्पतालमा हाल विकास समितिमार्फत् अर्थोपेडिक सर्जन डा मधु पाण्डे, गाइनोकोलोजिस्ट डा रञ्जना यादव कार्यरत छन् भने, छात्रावृत्ति करारमा डा रञ्जीश पहारी र फिजिसियन डा देवेन्द्र भट्टराई कार्यरत छन्।