काठमाडौं- चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन्। डा गिरीले आफूमाथि लागेका ६ वटा आरोपको बुँदागत रुपमा खण्डन गरेका हुन्।
डा गिरीमाथि शैक्षिक योग्यतादेखि सेवा अनुभवसम्मका विषयमा प्रश्न उठाइएको थियो। उनले आज एक विज्ञप्ति जारी गर्दै आफू माथि लागेको आरोपको स्पष्टोक्ति दिएका हुन्। उनले आरोप र वास्तविकता भन्दै बुँदागत रुपमा सबै विषयमा सत्यतथ्य प्रस्तुत गरेको दाबी गरेका छन्।
१. शैक्षिक योग्यता - M.S. डिग्री २ वर्षको भएकाले मान्यता नपाउने भन्ने सन्दर्भमाः-
वास्तविकताः मेले Post Graduate Diploma in Orthopaedics १ वर्षे कोर्ष 1996 मा चीनबाट र M.S.Orthopaedics Trauma Surgery ४ वर्षे कोर्ष २००३ मा चिकित्सा शास्त्र अध्ययन संस्थान (Institute of Medicine), महाराजगञ्जबाट गरेको छ । यी दुवै डिग्री विशेषज्ञताको लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्।
२. मेडिकल कलेजमा प्राध्यापक नभएको भन्ने सन्दर्भमाः-
वास्तविकताः- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशकै सबैभन्दा ठूलो चिकित्सा विषयमा स्नातकोत्तर MD/MS र सोभन्दा माथिको Superspeciality का MD/MCH अध्ययन हने शिक्षण संस्था हो । यो मेडिकल कलेजभन्दा उच्च तहको शिक्षण संस्था हो। यो संस्थामा १० वर्षभन्दा बढी समयदेखि प्राध्यापकको जिम्मेवारीमा रही अध्यापन तथा अनुसन्धानमा संलग्न भएको हुँ । सोभन्दा पहिले सह-प्रध्यापकको जिम्मेवारीमा रहेको थिए।
३. स्वास्थ्य सेवामा २० वर्षको अनुभव नभएको भन्ने सन्दर्भमाः-
वास्तविकताः- वि.सं.२०४१ सालमा लोकसेवा आयोगको परीक्षा पास गरेपछि हालको पदमा बहाल हुनुभन्दा अघिसम्म नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सेवारत थिए।
४. नेपाल मेडिकल काउन्सिलमा दर्ताको अवधि २० वर्ष नपुगेको भन्ने सन्दर्भमाः-
वास्तविकताः नेपाल मेडिकल काउन्सिलले विशेषज्ञता दर्ता गर्न सुरु गरेको अवधि नै २० वर्ष पुगेको छैन।
५. राजनीतिक संलग्नता- राजनीतिक दलको कार्यकर्ता उपाध्यक्षमा नियुक्ति भएको भन्ने सन्दर्भमाः-
वास्तविकताः- म कुनै पनि राजनीतिक दलको सदस्य छैन।
६. ऐन अनुसारको योग्यताको सन्दर्भमाः-
वास्तविकताः-माथि उल्लेख भएको तथ्यले नै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले गरेको व्यवस्था अनुसार मेरो योग्यता र अनुभव पुगेको छ।

