काठमाडौं- चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आक्रोश मिश्रित प्रश्न सोधेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई मेडिकल माफियाका सामु त्रस्त र नतमस्तक हुनुभएको हो? भन्दै प्रश्न गरेका छन्।
कलेजका विद्यार्थी र चिकित्सा शिक्षा संघर्ष समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि अन्याय भइरहँदा देशको प्रधानमन्त्री कहाँ हुनुहुन्छ? भन्ने प्रश्न समेत गरेका छन्।
‘निडर छवी भएका प्रधानमन्त्री पनि मेडिकल माफियाको सामु त्रस्त र नतमस्तक हुनुभएको हो कि फामियाहरुसितको दोस्ती र हिमचिमले उहाँको वाचाल जिब्रो अचल भएको हो?’, विज्ञप्तिमा भनिएको छ।
उनीहरुले मेडिकल कलेजले अरबौँको रकम कलोबजारी गरिरहेको भन्दै अर्थमन्त्रीलाई समेत प्रश्न गरेका छन्।
‘दशौं अरबको कालोबजारी भएर अरबौं कर छलि हुँदा यो देशका विद्वान अर्थमन्त्री कुन दुलोमा हुनुहुन्छ? दिनमा दुई सय कमाउने गरीबलाई प्यान कार्ड अनिवार्य गर्ने अर्थमन्त्री पनि अरबौं ठगी गर्ने माफियाहरु सामू लाचार र निरीह हो?’ विज्ञप्तिमा उल्लेख छ।
शिक्षामन्त्रीको राजीनामा माग
आन्दोलनरत विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क कलेजले असुलेको विरोधमा विद्यार्थीहरु तीन सातादेखि आन्दोलनरत छन्।
उनीहरुले शिक्षा मन्त्रीले आफैँले दिएको निर्देशन कार्यान्वयन गर्न नसकेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखेका हुन्।
‘आफैंले दिएको शुल्क फिर्तासम्बन्धी निर्णय कार्यान्वयन गराउन नसक्ने तपाइँजस्तो लाचार मानिस पदमा बसिरहन कसरी मिल्छ? मन्त्री पदको गरिमा यही हो?’ विद्यार्थीहरुले विज्ञप्ति माफर्त मन्त्री पोखरेललाई आक्रोश मिश्रित प्रश्न गरेका छन्, ‘अलिकति पनि नैतिकता छ भने शिक्षामन्त्रीका रुपमा पदीय नालायकीका लागि माफि माग्दै मन्त्री पदबाट राजीनामा दिन माग गर्दछौं।’
सरोकारवाला निकाय किन मौन?
विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन चलिरहँदा पनि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौं विश्वविद्यालय लगायतका सरोकारवाला निकाय मौम बसेकामा पनि आपत्ति जनाएका छन्। उनीहरुले पदाधिकारीहरुलाई तलब पकाउन मात्र पदमा बसेको हो? भन्दै प्रश्न पनि गरेका छन्।
हेरौँ विज्ञप्तिको पूर्ण पाठ
नेपालको संविधानले देशलाई समाजवाद उन्मुख मानेको छ र देशमा अहिले कथित बाम पार्टीको बलियो भनिने सरकार छ। तर पछिल्लो समयको हाम्रो भोगाइले एउटा प्रश्न उठाइदिएको छः के यो देशमा साँच्चै सरकार छ? कि सरकारमा हुने मानिसहरु देश चलाउने ठेक्का मुठ्ठीभर अपराधी र माफियाहरुलाई दिएर आफू तिनै माफियाको अनुकम्पाले धनी हुने दाउमा छन्? अपराधीहरु खुलेआम घुम्ने र न्याय खोज्ने पीडितहरु प्रहरी दमन र हिरासतमा पर्नुपर्ने यो कस्तो कानुनी राज्य हो? सरकार विधिको शासनको रक्षक हो कि भक्षक? पीडकलाई काँधमा बोकेर पीडितमाथि लाठी र बुट बजार्ने कस्तो बलियो सरकार हो यो? जनताको मतबाट निर्वाचित भएर प्रतिवेदन लेख्ने काम माफियाहरुलाई सुम्पने कस्ता सांसद छन् यो देशमा?
यी प्रश्नको जवाफ हामीले विगत धेरै वर्षदेखि खोजिरहेका छौं। तर अतिबाट अत्याचार भइसक्दा पनि कतैबाट सुनुवाइ नभएपछि हामी अहिले आफ्नै पठनपाठन ठप्प पारेर झण्डै तीन सातादेखि आन्दोलनमा उत्रिएका छौं। यस क्रममा हामीमाथि प्रहरी दमन मात्रै भएको छैन, हामीलाई आफ्नै अस्पतालमा प्रवेश निषेध गरिएको छ। हाम्रो विशुद्ध विद्यार्थी आन्दोलनलाई अमूक पार्टीको बिल्ला लगाएर बदनाम गर्ने र दबाउने प्रयास गरिंदैछ।
हामी यो देशका शिक्षामन्त्रीलाई सोध्न चाहन्छौंः आफैंले दिएको शुल्क फिर्तासम्बन्धी निर्णय कार्यान्वयन गराउन नसक्ने तपाइँजस्तो लाचार मानिस पदमा बसिरहन कसरी मिल्छ? मन्त्री पदको गरिमा यही हो? एक त अरबौंको आर्थिक अपराध गर्ने अपराधीहरुलाई जेल हालेर कारवाही गर्नुपर्नेमा तपाइँ बिचौलिया बनेर कानुनको धज्जी उडाउँदै मिलाउन खोज्नुभयो। वर्षौंदेखि असुलिएको अवैध अतिरिक्त रकम फिर्ता हुन्छ भने ठिकै छ भनेर हामीले त्यसलाई स्वीकार्यौं पनि। तर अब त आर्थिक अपराध, ठगी र कालोबजारी मात्रै भएन, मन्त्री तथा दुवै विश्वविद्यालयको सहकुलपतिको निर्देशनको सरासर उल्लंघन भयो। तपाइँ लाचार र निकम्मा हो कि माफियाको अनुचित आर्थिक लाभमा फसेको? हामी यसको जवाफ चाहन्छौं। साथै अलिकति पनि नैतिकता छ भने शिक्षामन्त्रीका रुपमा पदीय नालायकीका लागि माफी माग्दै मन्त्री पदबाट राजीनामा दिन पनि माग गर्छौं।
यति लामो समय आन्दोलन चलिरहँदा आइओएम, त्रिवि, केयुलगायत सबै सरोकारवाला संस्थाहरु अहिले मौन छन्। के पदाधिकारीहरुको काम तलब पकाउनु मात्रै हो? आफूले शिक्षा र डिग्रीको जिम्मा लिएर भर्ना गराएका विद्यार्थीहरुको भविष्य हेर्नु तपाइँहरुको जिम्मा हैन? यत्रो अन्याय भइरहँदा यो देशको प्रधानमन्त्र ि कहाँ हुनुुन्छ? निडर छवि भएका प्रधानमन्त्री पनि मेडिकल माफियका सामु त्रस्त र नतमस्तक हुनुभएको हो? कि माफियाहरुसितको दोस्ती र हिमचिमले उहाँको वाचाल जिब्रो अचल भएको हो? दशौं अरबको कालोबजारी भएर अरबौं कर छलि हुँदा यो देशका विद्वान अर्थमन्त्री कुन दुलोमा हुनुहुन्छ? दिनमा दुई सय कमाउने गरीबलाई प्यान कार्ड अनिवार्य गर्ने अर्थमन्त्री पनि अरबौं ठगी गर्ने माफियाहरु सामू लाचार र निरीह हो? यो कस्तो देश हो जहाँ अपराधीहरु कानुनभन्दा माथि हुन्छन् अनि कानुनका रक्षकहरु उनीहरुका पाउमा लम्पसार हुन्छन्?
अहिलेसम्म जति अन्याय भयो, भयो। अब हामी यो सहनेवाला छैनौं। हाम्रो अहिलेको आन्दोलन अमुक निजी मेडिकल कलेजविरुद्ध मात्रै नभएर माफियाहरुको पैसामा बिकेका सारा राजनीतिज्ञहरु र पदारधकारीहरुविरुद्ध हो। जबसम्म देशका सबै मेडिकल कलेजले असुलेको अवैध अरबौं रकमको प्रत्येक रुपैयाँ र पैसा विद्यार्थीहरुलाई फिर्ता हुँदैन र आथिृक अपराधीहरु कानुनको कठघरामा आउँदैनन्, तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ। हाल जति पनि मेडिकल कलेजमा आन्दोलन भएको छैन, त्यहाँका विद्यार्थीहरुलाई यसै विज्ञप्तिमार्फत आन्दोलनमा उत्रिन आह्वान गर्दर्छौं। अभिभावकहरुलाई पनि यो आन्दोलनलाई सहयोग गरिदिनुहुन र हाम्रा कठिनाइ बुझिदिनुहुन अनुरोध गर्दर्छौं। मिडियाका साथीहरुलाई विगतमा झैं फेरि पनि निरन्तर सक्रिय भएर हाम्रो आवाज जनस्तरसम्म पुर्याइदिनु हुन अनुरोध गर्दर्छौं।
स्मरण रहोस्, विद्यार्थीहरुको उचित शुल्क र योग्यताका आधारमा भर्ना हुने अधिकार यसै स्थापित भएको हैन। श्रद्धेय डा गोविन्द केसीको झण्डै दशक लामो त्याग, तपस्या र सत्याग्रह तथा माथेमा कार्यदलको ओजिलो प्रतिवेदनका आधारमा मेडिकल कलेजहरुको ब्रम्हलुट रोकेर निश्चित शुल्क कायम गरिएको हो। डा केसीले शुरु गर्नुभएको सुधार र विद्यार्थीको हक सुनिश्चित गर्ने अभियानलाई निश्कर्षमा पु¥याउन निर्णायक भुमिका खेल्ने वाचा गर्दै हाम्रो आन्दोलनलाई उहाँले निरन्तर गरिरहनुभएको समर्थन र हौसलाको उच्च मुल्यांकन गर्दर्छौं।
अन्तमा हामीलाई बदनाम गरेर, फुटाएर वा प्रहरी दमनमार्फत आन्दोलन दबाउने सपना देख्नेहरुलार्इ आन्दोलन अझ सशक्त बनाएर देखाइदिने चुनौती दिन चाहन्छौं। कम्युनिष्ट भनिने पार्टीको सरकारका माफियासामू घुँडा टेकिरहेका सबै तथा संसदीय उपसमितिको प्रतिवेदन माफियाहरुलाई लेखाउने सबै दलका सांसदहरुलाई या त समयमै चेतेर आफ्नो संविधानसम्मत कर्तव्य निर्वाह गर्न, या समाजमा मुख देखाउनै नमिल्ने बदनामीका लागि तयार रहन आग्रह गर्दर्छौं। कानुनको रक्षक हुनुपर्नेहरु भक्षक भइरहेको बेला देशको संविधान, कानुन र विधिको शासनका लागि लडिरहन पाउँदा गौरवको महसुस गर्दर्छौं।
प्रकाश चन्द
संयोजक,
चिकित्सा शिक्षा संघर्ष समिति
तथा चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थीहरु
मितिः २०७६।५।३१