काठमाडौं– स्वास्थ्य तथा जनसख्ंयामन्त्री उपेन्द्र यादवले डेंगु रोगले महामारीको रुपमा लिएको करिब ३ महिनापछि पहिलो पटक प्रतिनिधिसभामा सम्बोधन गरेका छन्।
उनले डेंगु रोगको अवस्था आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
सांसदहरुले प्रतिनिधि र राष्ट्रियसभाको बैठकमा पटकपटक डेंगुको नियन्त्रण गर्न सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरिरहेका थिए। सांसदहरुले स्वास्थ्यमन्त्रीको राजीनामा पनि माग गरेका थिए।
सांसदको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री यादवले मन्त्रालय डेंगु नियन्त्रण गर्न सक्षम भए पनि यो रोगको निर्दिष्ट औषधि नभएकाले समस्या भएको बताए।
उनले भने, ‘यसको औषधि छैन। लामखुट्टे नियन्त्रण गर्नु नै उत्तम उपाय हो। लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने उपाय नै संसारभर चलनमा छ।’
रु६ करोड १७ लाख रकम डेंगु नियन्त्रणमा पठाइएको उनको भनाइ छ। उनले प्रदेश र स्थानीय सरकारले पनि यसको जनचेतनाको लागि बहुसञ्चार उपयोग गरिरहेको बताए। देशभरका ११८ अस्पतालबाट नियमित रिर्पोटिङ भइरहेको उनको भनाइ छ।
अहिलेसम्म करिब ६ हजार मानिस डेंगु रोगको संक्रमणमा परेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।