धनगढी- सुदूरपश्चिम प्रदेशमा रहेका अस्पतालमा बिहिबार बहिरंग सेवा निःशुल्क गरिने भएको छ।
संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश सरकार मातहात रहेका अस्पतालहरूलाई सामाजिक विकास मन्त्रालयले बिहीबार एक दिनलाई बहिरंग सेवा निःशुल्क गर्न परिपत्र गरिएको छ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले ‘प्रदेश सरकार मातहात रहेका अस्पतालमा परिपत्र गरिसकेको’ बताए।
सुदूरपश्चिम प्रदेश सरकार मातहत डडेल्धुराको उपक्षेत्रीय अस्पताल बाहेक सेती र महाकाली प्रादेशिक अस्पताल, बैतडी, अछाम, डोटी, दार्चुला, बाजुरा र बझांग जिल्ला अस्पताल रहेका छन्।
मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले ‘मन्त्रालयले संविधान दिवसको अवसरमा बहिरंग सेवा निःशुल्क गर्नका साथै विभिन्न क्रियाकलापहरू अघि बढाउन’ आग्रह गरिएको बताए।
उनका अनुसार मन्त्रालयमातहत रहेका अस्पतालहरूको प्रांगणमा सरसफाई कार्यक्रम, बृक्षारोपण लगायतका गतिविधी गर्न भनिएको छ।