काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन्।
आयोगको बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।
'यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुदैन', प्रधानमन्त्री ओलीले भने 'यसले स्वायत्त ढंगले काम गर्छ। देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ।'
प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताए।
'हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ।' प्रधानमन्त्री ओलीले भने 'विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन। तर अब त्यस्तो हुदैन।'