भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान थालेको छ। नगरपालिकाले नगरभित्र भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको बासस्थान र लार्भा नस्ट गर्ने कार्यको थालनी गरेको हो।
प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका बिरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए।
अभियानका क्रममा पानी जम्ने ठाउँको खोजी गरी नष्ट गर्न, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा फुल बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने मल्हम प्रयोग गर्न आग्रह गरिएको उपप्रमुख उमा काफ्लेले जानकारी दिइन्।
उनले घर वरिपरि सफासुग्घर राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न नगरबासीलाई सचेतना गराइने र यी कार्य नगरपालिकाबाट खटिएका कर्मचारीले पनि गर्ने उपप्रमुख काफ्लेले बताइन्।
डेंगी सार्ने लामखुट्टेको बासस्थान र लार्भा नस्ट गर्ने अभियानमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेको नेतृत्वमा स्वाथ्यकर्मी, अन्य कर्मचारी, स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। नगरका १३ वटै वडामा ५० वटा केन्द्रमार्फत १ सय १ जना स्वयंसेविका तथा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरिएको न्यौपानेले बताइन्।
अभियानको क्रममा डेंगु रोग लाग्ने कारण, बच्ने उपायबारे पनि नगरबासीलाई सचेतना गराएको छ। यससँगै सचेतनामूलक पर्चा–पम्पलेट पनि वितरण गरिरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले नगरभित्र रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेर डेंगु नियन्त्रणमा लाग्न अपिल गरिएको बताएको छ।
‘अहिले हरेक विद्यालयमा पठनपाठन हुनुपूर्व शिक्षकहरुले विद्यार्थीलाई डेंगुबारे जानकारी गराएर मात्रै कक्षा कोठामा पठनपाठन गर्न सुरु गर्न आग्रह गरेका छौं,’ स्वास्थ्य शाखा प्रमुख न्यौपानेले भनिन्।
अभियानमा नगरका प्रत्येक घरमा पुगेर डेंगुको बासस्थान गर्ने तरिका सिकाइने छ। यसको प्रभावकारिता हेरेर नगरपालिकाले थप योजना बनाएर डेंगु नियन्त्रण अभियानमा लाग्ने जनाएको छ। मुलुकभरि फैलिएको डेंगुले हजारौं नागरिक बिरामी भएका छन्।
रुपन्देहीमा पनि डेंगुको संक्रमण विस्तारै बढ्दै गएको छ। जिल्लाको अन्य स्थानमा डेंगु संक्रमित बढ्दै गए पनि सिद्धार्थनगरमा भने सामान्य छ।