फाइल तस्बिर
काठमाडौं- सरकारले अस्पताललाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ। बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘यार्न एन्ड टेक्सटाईल एक्स्पो-२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्यमहरुलाई आत्मनिर्भर बनाउन यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। उनले सरकारी कर्मचारी र सेना प्रहरीका लागि पनि यो नियम लागू हुने बताएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिएका हुन्। 'त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन पनि स्वदेशी कपडा उद्यमीहरुलाई सचेत गराउँछु,' अर्थमन्त्री खतिवडाले भने। सरकारले स्वदेशी उद्यमलाई १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताए।
अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गरेका छन्। हेटौंडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिन भित्रै त्यसलाई मन्त्रिपरिषदबाट पारित गराउने जानकारी उनले दिए।
अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरहरुमा पनि सहुलियत दिइएको दाबी गरे।