चितवन- आन्दोलनरत विद्यार्थी र चितवन मेडिकल कलेज प्रशासनबीच सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा विद्यार्थीबाट लिएको बढी रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको हो।
यो सहमतिसँगै विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आन्दोलन फिर्ता भएसँगै कलेजमा आइतबारदेखि नै पढाइ सुचारु हुने बताइएको छ।
आजको छलफलमा कलेज सञ्चालक डा हरिश न्यौपाने, आन्दोलनरत विद्यार्थीका तर्फबाट प्रकाश चन्द, अभिावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेनत लगायत थिए। बिहान १० बजेबाट सुरु भएको वार्ता साँझ ५ बजेसम्म चलेको थियो।
विद्यार्थीहरुका अनुसार कलेजले विद्यार्थीबाट तोकिएको शुल्कभन्दा १० देखि १५ लाख रुपैयाँ बढी लिएको छ। सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई ४२ लाख रुपैयाँ शुल्क तोकेको छ।