डडेल्धुरा- दशरथचन्द नगरपालिका वडा नम्बर ४ की कलावती जोशी सुत्केरी व्यथा लागेर असोज १ गते घर अगाडीको जिल्ला अस्पताल बैतडीमा भर्ना भइन्। समान्य रुपमा बच्चा पाउन नसकेपछि ३ गते उनको शल्यक्रिया गर्ने तयारी भयो।
तर, अस्पतालमा रहेका बेहोस बनाउने डाक्टर (एनेस्थोसियोलोजिष्ट)ले एनेस्थेसियाको सुई लगाउन नमान्दा जोशीलाई डडेल्धुरा अस्पतालमा रेफार गर्नु परेको छ।
सुत्केरी व्यथाले च्यापेकी जोशीलाई आफन्तले झण्डै ५ घण्टा लामो पीडादायीक यात्रा गराउँदै डडेल्धुरा अस्पताल पुर्याउन सफल भए।
डाक्टरले सुई लगाएर बेहोस बनाउने काम नगर्ने र आफू बिदामा बसेको भनेपछि बैतडी अस्पताले उनलाई डडेल्धुरा रेफर गरेको हो। त्यसपछि आफन्तले जोशीलाई एम्बुलेन्समा लैजाने तयारी गरेका थिए। तर, त्यतीबेला एम्बुलेन्स समेत बिग्रिएका कारण पाउन सकेनन्।
एम्बुलेन्स नभएपछि आफन्तले महँगो शुल्क तिरेर निजी जिपमा जोशीलाई डडेल्धुरा अस्पतालमा लगेका हुन्।
डडेल्धुरा अस्पतालमा भेटिएका सुत्केरीका आफन्त नारायण जोशीले भने, ‘आफूलाई अत्यावश्यक परेको समयमा घर अगाडिकै अस्पताल समेत काममा आउन सकेन। एम्बुलेन्स पनि नपाउँदा निकै महँगो शुल्कमा गर्भवती र बच्चाको जीवनको जोखिम मोलेर नै कष्टपूर्ण यात्रा गर्नुपर्यो।’
अस्पताल ल्याइएकी जोशीको सफल शल्यक्रिया भएको छ। उनले छोरीलाई जन्म दिएकी छिन्। उनीहरु दुवैजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
जिल्ला अस्पताल बैतडीका डा देवेन्द्र लेखकले जोशीलाई जिल्लामा शल्यक्रिया गर्न नसकिने भएपछि डडेल्धुरा रेफर गरिएको बताए। ‘उहाँको सामान्य सुत्केरी नहुने भएपछि अप्रेसनको तयारी भएको थियो। तर, अप्रेसन अघि एनेस्थेसियाका डाक्टर खेमराज भट्टको घरमा बुबाको श्राद्ध परेका कारण आउन नसक्ने भएपछि रेफर गर्न बाध्य भएका हौँ,’ उनले भने।
एनेस्थोसियाका डाक्टर भट्टले पनि बुबाको श्राद्ध परेका कारण घरमा गएको हुँदा अस्पतालमा आउन नसकेको प्रतिक्रिया दिएका छन्।