काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र (लाइसेनिङ) परीक्षा कात्तिक ३० गते शनिबार गर्ने निर्णय गरेको छ।
काउन्सिलले सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले असाजे ९ देखि कात्तिक ९ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने जनाएको छ।
बीएएस्सी नर्सिङ वा प्रविणता प्रमाणपत्र तह पिसिएल नर्सिङ उत्तीर्ण विद्यार्थीले मात्र काउन्सिलको दर्ता प्रमाणपत्रमा सहभागी हुन पाउने छन्। दर्ता परीक्षा उत्तीर्ण गरेपछि मात्र नर्सहरु स्वास्थ्य सेवा प्रदान गर्न योग्य मानिन्छन्।
दोब्बर दस्तुरमा आवेदन भर्नका लागि कात्तिक ९ देखि १५ गतेसम्मको समय दिइएको काउन्सिलले जनाएको छ।
परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई दिइएको सूचना बमोजिम आवेदन दिन सक्ने छन्। काउन्सिलले अनलाइन बाहेक अन्य माध्यमबाट दिइएको आवेदन फाराम बुझाउन नपाइने काउन्सिलले स्पष्ट पारेको छ।

यसअघि, काउन्सिलले गत असार १८ गते सार्वजनिक गरेको नर्सहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजमा अध्ययनरत विद्यार्थीमध्ये ६५ विद्यार्थी फेल भएका थिए। तीमध्ये धेरैजसो कलेजको नतिजा शून्य आएको छ।
धेरै संख्यामा विद्यार्थीहरु अनुत्तीर्णा भएपछि नर्सिङ शिक्षा, नर्सिङ कलेजको गुणस्तरीयताबारे बहस चलेको थियो। कात्तिकमा लिइने परीक्षामा धेरै नयाँ विद्यार्थीहरु सहभागी हुने भएकाले उत्तीर्ण हुने विद्यार्थीको संख्या पनि धेरै हुने काउन्सिलको अनुमान छ।
हालसम्म काउन्सिलमा ८९ हजार ७ सय ८७ नर्सहरु दर्ता भइसकेकाका छन्। जसमध्ये नर्स ५५ हजार ५ सय ३५, अनमी ३३ हजार ४०९ र फरेन नर्स ८ सय ४३ दर्ता छन्।